
पाल्पा— प्रहरीले अवैध युरिया मल बरामद गरेको छ ।
रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो । रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैधरूपमा भण्डारण गरी राखेको ६ सय ५० बोरा र रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले ३ सय ७२ बोरा मल बरामद गरेको छ ।
केही दिनदेखि रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरको पहिलो तलाको भाडाको सटर कोठामा मल भण्डारण गरेको अवस्थामा ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको छ ।
इलाक प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशङ्का लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरेर राखिएको पाइएको जानकारी दिए । सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला काटेर हेर्दा छ सय ५० बोरा मल फेला परेको उनले बताए ।
अवैधरूपमा भण्डारण भएको युरिया मल सिल गरिएको छ । रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको टोलीले स्थलगत रूपमा अनुगमन गरेको छ ।
'अहिलेलाई सिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारेमा प्रहरीले अनुसन्धान गर्नेछ, अवैधरूपमा ल्याएको पाइएमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई कानूनी कारबाही हुनेछ,' प्रहरी उपरीक्षक थापाले भने ।
यसैगरी नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा शनिबार बिहान भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल १६ हजार सात सय ४० किलो अर्थात तीन सय ७२ बोरा दुई लाख ९७ हजार छ सय मूल्य बराबरको बिल नभएको मल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।