
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरूको गहिरो र वस्तुगत समीक्षा गरिएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गर्नेगरी अर्थतन्त्रलाई गतिशील बनाउन बजेटमा जोड दिइएको उल्लेख गरे ।
उनले पुँजीगत खर्च कम हुनुका कारणहरू पहिचान गरी समाधानका उपाय निकालिएको, सार्वजनिक खर्चको मितव्ययितामा जोड दिइएको दाबी गरे । उनले आर्थिक सुधार र निजी लगानी प्रवर्द्धन लागि नीतिगत सुधारको घोषणा गरिएको, डिजिटल र हरित अर्थतन्त्रमा जोड दिइएको उल्लेख गरे ।
बजेटमार्फत नवप्रवर्तनमा जोड दिएको, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिइ कार्यक्रमहरू ल्याइएको उनको भनाइ छ । बजेटमा निर्माणाधीन ठूला पूर्वाधार आयोजनालाई निरन्तरता दिइएको, राजस्वको आधार विस्तार गरिएको, कर छुटलाई घटाइएको, करका दर सामयिक परिमार्जन गरिएको र कर प्रशासनको प्रणालीगत सुधारमा जोड दिइएको बताए ।
सो अवसरमा अर्थमन्त्री डा. महतले वातावरणीय हिसाबले उपयुक्त देखिएमा मात्रै अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने पनि बताए । उनले प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्ने सम्भाव्यता अध्ययन गरी निर्यातका आधार तयार गर्न खोजिएको स्पष्ट पारे । तर, वातावरणीय पक्षलाई उपेक्षा नगरी वातावरणीय सन्तुलनलाई कायमै राखेर काम गरिने उनको भनाइ छ ।
‘चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरिएको छ, तर, वातावरणीय दृष्टिले निर्यात गर्न मिल्ने मात्रै निर्यात हुन्छ,’ उनले भने, ‘भुटानले पनि त निर्यात गरिरहेको छ भने अष्ट्रेलियामा पनि ठूला–ठूला खानी उत्खनन् भइरहेका छन् ।’ रासस