
काठमाडौं— नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।
नेपालमा बर्सेनि नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहको भनाइ छ ।
नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन् । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् ।
क्षयरोगी मध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव चार प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् ।
केन्द्रका निर्देशक डा.शाहले वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए । ‘झन्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । यो एक चुनौतीको रुपमा रहेको छ’, उनले भने ।
विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।
राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत आठ सय ९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार नौ सय ७१ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र र ८१ डिआर उपकेन्द्रबाट क्षयरोगको उपचार सरकारले गरिरहेको छ ।