काठमाडौं— नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको बताएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरू आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको हो ।
नेपाल कृषिउपज आलु तथा प्याज आायत निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रस्तुत भएको आर्थिक ऐन, २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकूल असर पर्ने बताए ।
उनले देशमा महँगी बढिरहेको बेलामा आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको जिकिर गरे । उनले यो अवस्थामा पूर्ण परिमाणमा मूल्य अभिवृद्धि कर तिरेको भएपनि सम्पूर्ण वस्तुहरू बजारमा बिक्री गर्न असमर्थ हुने स्पष्ट पारे ।
हाल आलु प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएको पनि उनले जानकारी दिए । यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको उनको जिकिर छ । यस्तो नीतिले व्यवसाय संकुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलु प्याज एक तिहाइले महँगो हुने उनको भनाइ छ ।
संघले आलु तथा प्याजको कारोबारमा भ्याट आकर्षित गर्नु अनुचित, अव्यवहारिक, अनावश्यक, अन्यायपूर्ण र महँगीलाई मलजल गर्ने भएकाले आर्थिक ऐन, २०८० बमोजिम आलु तथा प्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हितविरोधी काम नगर्न सरकारस्ँग आग्रह गरेको छ ।