News Griha :: न्यूजगृह
गण्डकीमा बजेटको अन्तिम तयारी, आकार घटाइँदै

पोखारा— आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेटको आकार घट्ने भएको छ ।

चालु आवमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आगामी आवका लागि ३३ अर्बको हाराहारीमा बजेट आउने अनुमान छ ।

संघ सरकारले पठाएको ३३ अर्ब ८५ करोडको सीमा (सिलिङ) मा रहेर प्रदेश सरकारले बजेट निर्माणलाई अन्तिम रूप दिन लागेको हो ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता राजेन्द्रबन्धु अर्यालले बजेटमा समावेश हुने योजना र लागत प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआइएस) मा प्रविष्ट गर्ने काम भइरहेको बताए ।

‘बजेट निर्माण अन्तिम चरणमा छ, समयको कही चाप परेको छ’,उनले भने,‘मन्त्रालयगत रूपमा कार्यक्रम र योजना रुजु गर्दैछौँ ।’ प्रवक्ता अर्यालले बजेटको मस्यौदालाई अन्तिम रूप दिन मात्र बाँकी रहेको बताए ।

स्रोत खुम्चिँदा सरकारलाई बजेट निर्माणमा दबाब छ । चालु आवमा कर तथा राजस्वबाट ११ अर्ब ३४ करोड ३७ लाख उठाउने लक्ष्य लिइएकामा यही ४ जेठसम्मको तथ्यांकअनुसार जम्मा पाँच अर्ब ८९ करोड ३९ लाख १८ हजार मात्र राजस्व उठेको छ ।

आन्तरिक राजस्वतर्फ पाँच अर्ब नौ करोड १६ लाखको लक्ष्य रहेकामा हालसम्म करिब ५० प्रतिशत मात्र संकलन भएको छ । घरजग्गालगायत कारोबारमा मन्दी आउँदा राजस्व न्यून उठेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०५:५५
Weather Update