News Griha :: न्यूजगृह
संसद्मा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसद्मा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद् बैठकमा अराजकता देखाएको बताए । 

‘सामन्तवादको प्रतिनिधिमूलक संस्था हामीले वर्षौँदेखि लडेर फालेको, चिहानमा पुरेको राजसंस्था फेरि ब्युँताउँछु, मरिसकेको लासलाई फेरि म पुनर्जीवन दिन्छु भनेर भ्रमित पारेर सत्ता साझेदार दलहरू बिचको आन्तरिक अन्तरबिरोधमा खेलेर जुम्लाबाट प्रतिनिधित्व भएर आएका ज्ञानेन्द्र शाही दुनियाँलाई थाहा छ, जुम्ली जनतालाई पनि थाहा छ, तर उनी यहाँ आइसकेपछि उनले संविधान मान्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र मान्नुपर्छ । यो सदन भित्र । यो सदनले राजतन्त्र चिन्दैन,’ उनले भने ।

सांसद दाहालले यो संसद्ले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह पनि गरे । संसद् राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै सांसद दाहालले रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न शाहीलाई आग्रह गरे । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १७:२०
Weather Update