News Griha :: न्यूजगृह
बिक्दैनन् फलफूलका बिरुवा

गुल्मी— वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ ।

गुल्मी कै मालिका गाउँपालिका– ५ छापहिले घर भएका उनी १६ वर्षदेखि रेसुङ्गा नगरपालिका– ९ मा बिरुवा उत्पादनमा सक्रिय छन् । उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धूपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आएका छन् । 

विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आएका छन् जिल्ला बाहिरबाट भित्रिएर । सदरमुकाम मै नर्सरी रहे पनि बिरुवा बिक्री नभएपछि वीरबहादुर पिरलोमा छन् । उनले भने, ‘बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् ।’ 

बिरुवा बेचेर वार्षिक १७ लाखसम्म आम्दानी गर्ने वीरबहादुर अहिले छन् पिरलोमा 
वीरबहादुरको नर्सरीमा सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अङ्गुर र तरकारीजन्य सबै बिरुवा पाइन्छन् । बिरुवाबाट वार्षिक सातदेखि १७ लाखसम्म आम्दानी गर्ने वीरबहादुर यस वर्ष बिरुवा बिक्री नहुने चिन्तामा हुनुहुन्छ । 

५६ वर्षीय कार्कीले बजारीकरणको ‘ग्यारेन्टी’ भएमा उत्पादन बढाउने बताउँछन् । तर बिरुवा बिक्री नभएपछि उनले लगानी घटाउँदै गएका छन् । ‘किसानलाई बिरुवा वितरण गर्ने कार्यक्रम गुल्मीमा बर्सेनि चल्छन्,’ उनले भने, ‘माटो सुहाउँदो बिरुवा भए पनि हाम्रो बिक्री हुन्न, बाहिरी जिल्लाबाट खरिद हुन्छ ।’ 

सामुद्रिक सतहबाट एक हजार पाँच सयको उचाइमा उत्पादित बिरुवा होचो वा अग्लो दुवै स्थानका लागि उपयुक्त हुने भए पनि बिरुवा बिक्रीमा समस्या देखिएको हो । वीरबहादुरसँग अहिले कागती ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजार रुपैयाँभन्दा माथिका छन् । 

उनले सुन्तला  २३, कागती  २५, टिमुर  ६०, किबी  एक सय ५० र अम्बा प्रतिबिरुवा ५० रुपैयाँमा बिक्री गर्छन् । २०६४ सालमा २० हजार रुपैयाँबाट सुरु गरेको नर्सरी अहिले ४६ लाख पुगेको छ । १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका वीरबहादुर बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोचमा छन् । उनले सात रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन् । जसमध्ये दुई रोपनी उनको आफ्नो हो भने पाँच रोपनी जग्गा भाडामा लिएका हुन् । भाडा बापत उनले वार्षिक १५ हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । वीरबहादुरलाई श्रीमती रेनुले नर्सरीमा सघाउँछिन् । नर्सरीबाट औसतमा दैनिक पाँच जनाले रोजगारी पाएका छन् । 

सरकारी अनुदान होइन, बजार ग्यारेन्टी चाहियो 
दुई वर्ष अगाडि एउटा टनेल घर निर्माण गर्न रेसुङ्गा नगरपालिकाबाट उनले एक लाख अनुदान लिएका थिए । ‘अनुदान नपाएको भन्ने मेरो गुनासो नै छैन,’ उनले भने, ‘उत्पादित बिरुवाको बजार ग्यारेन्टी भए पुग्छ ।’ 
राजनीति र कृषि पेसामा सक्रिय वीरबहादुर १६ वर्षदेखि तम्घासमा बस्दै आएका छन् । उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज हुन् । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १२:२९
Weather Update