
सुदूरपश्चिम— सुदूरपश्चिम प्रदेश सभामा शुक्रबार प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ ।
शुक्रबार बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको आगामी आवको सिद्धान्त एवम् प्राथमिकता र नीतिबीच अस्पष्टता र विरोधाभास रहेको बताए ।
उनले भने,‘सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति कार्यक्रममा स्पष्ट छैन, सैद्धान्तिक आधारविहीन र प्राथमिकता अस्पष्ट छ ।’
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्काले नीति कार्यक्रममा थुप्रै विषय समेटिएको भन्दै प्रतिपक्षी बेञ्चमा बस्नेबाट सबै कुरा खराबैखराब देख्ने प्रवृत्तिको अन्त्य गरी सकारात्मक सोच राख्न पनि जरुरी रहेको बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले नीति कार्यक्रम आधारभूत रुपमा स्वच्छ सुरुआत भएको भन्दै प्रशंसा र आलोचनाको चेतनाभन्दा समालोचनाको चेतनाले गरिने छलफल बहसले आउने निष्कर्ष पनि वैज्ञानिक र उन्नत हुने बताए ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेशको विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताए ।
नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नीति कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै यसलाई वस्तुनिष्ट ढङ्गले बजेटमा व्यवस्थापन गर्नुपर्ने बताए ।
राप्रपाकी खेमादेवी विष्टले सरकारको नीति तथा कार्यक्रममा थुप्रै कुरा समेटिएको भए पनि स्वास्थ्य र शिक्षाका बारेमा ठोस योजना नआएको बताइन् ।