काठमाडौं— तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ ।
तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने चिकित्सक डा.पवनकुमार शाहले बताए ।
ताताे हावाको लहरका सम्बन्धमा शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलोपटक छलफल गरेको छ । उक्त छलफलका सहभागीले अब शीतलहरका लागि पनि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राप्त सुझावलाई कार्यान्वयन गर्न आवश्यक तयारी थाल्ने र कार्ययोजना बनाएर लागु गर्ने प्रतिबद्धता जनाए ।