News Griha :: न्यूजगृह
लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम, सांसदहरूको मिश्रित प्रतिक्रिया 

दाङ— लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

५१ पेज लामो नीति तथा कार्यक्रममा रोजगारी सृजनालाई प्रमुख प्राथमिकता दिइएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सपथग्रहणकै क्रममा रोजगारी सृजनालाई प्रमुख प्राथमिकता दिने घोषणा गरेका थिए ।

प्रदेशवासीको आवश्यकता बमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन वृद्धि गर्दै जीवनस्तरमा दिगो सुधार एवम् उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीति प्राथमिकमा केन्द्रित हुनेगरी कार्यक्रम चलाइने भएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा केही आकर्षक नाराहरू समेटिएको छ । यसैबीच नीति तथा कार्यक्रमका बारेमा सांसदहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता लीला गिरीले अहिलेको आर्थिक समस्यालाई समाधान गर्ने खालको नीति तथा कार्यक्रम आउनु नसकेको प्रतिक्रिया दिए ।

उनले नीति तथा कार्यक्रम परम्परागत रहेको बताए । त्यस्तै अन्य सांसदहरूले नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन् ।

कृषकबाट कृषकसम्म प्रविधि तथा कार्यक्रम विस्तार गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । घरदैलोमा प्राविधिक सेवा : उत्पादनमा टेवा, श्रमको सम्मान : लुम्बिनी प्रदेशको अभियान, पढ्दै कमाउदै, कमाउदै पढ्दै, सीप सिकौं दक्ष बनौं, उद्योग दर्तामा प्रविधि : लुम्बिनी प्रदेशको उन्नति, मानव विकासको आधार : लुम्बिनीमा स्तरीय र सुरक्षित पूर्वाधार, कृषिको आधार : सिँचाइमा सुधार, जस्ता नाराहरू प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:२३
Weather Update