News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हराएको भनिएका २३ सीमास्तम्भको अन्तर्वस्तु के हो ?
सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१/४ (डब्लुपी–१८) नंको सानो सीमास्तम्भ । तस्बिर : नवीन गड्तौला/रासस

काठमाडौं— सुनसरीको नेपाल–भारत सीमा छुट्याउने स्थानमा केही दिनअघि २३ सीमास्तम्भ हराएको सूचना गलत भएको सरकारी अधिकारीहरूले बताएका छन् ।  

सुनसरीमा ६१.९ किलोमिटर क्षेत्रफल नेपालले भारतसँग खुला सिमाना साझा गर्छ । सुनसरीमा नेपाल–भारत सीमा छुट्याउने २९० वटा स्तम्भमा ३१ वटा मुख्य (जङ्गे), १४२ वटा सहायक, ११५ वटा सानो र दुईवटा रेफरेन्स सीमास्तम्भ छन् । तीमध्ये चार मुख्य र १९ सहायक स्तम्भ हराएको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको थियो । 

तर, त्यस क्षेत्रका सशस्त्र प्रहरीका एसपी लकेश कुमार तुम्बाहाम्फेले ती स्तम्भ हराउनुभन्दा पनि डुबानमा परेको न्यूजगृहलाई बताए । उनले भने, ‘हराएका होइनन् । भण्टाबारी कोशी ब्यारेकमा पानीको बहावले साना स्तम्भहरू छोपिने र देखिने भइरहन्छ । हराएको भनिएका २३ स्तम्भ कोशीको लाइनमा रहेका ४ मुख्य र १९ सहायक स्तम्भ हुन् । ती डुबानमा परेकाले नदेखिएको हो ।’ उनले सुनसरीमा भारतसँग सिमानामा कुनै समस्या नरहेको समेत स्पष्ट पारे ।

Prabhu Bank

'सीमास्तम्भ हराउन सम्भव छैन'

नापी विभागका निर्देशक एवं सूचना अधिकारी दामोदर ढकाल सिमानाका स्तम्भहरू हरायो भन्नु गलत तर्क भएको बताउँछन् । उनी भन्छन्, ‘प्रविधि नबुझेर हरायो भनिएको हो । सीमास्तम्भ हराउनेभन्दा पनि वर्षामा या नदी क्षेत्रमा डुबानमा पर्ने, पानीको कारणले उखेलिन सक्ने, भत्किन या बाढीले बगाएर लैजानसक्ने हुनसक्छ ।’ 

नेपालले सीमास्तम्भमा डिजिटल कोअर्डिनेटर राखिएकोले हराउन सम्भव नै नरहेको उनको दाबी छ । ‘सीमास्तम्भमा डिजिटल कोअर्डिनेटर हुन्छ । त्यसैले त्यो पानीले बगाए पनि प्राविधिकले स्थान पहिचान गरेर सोही स्थानमा राख्न सकिन्छ । स्तम्भ राख्दा पहिलेको स्थानसँग सेन्टिमिटरको पनि फरक पर्दैन,’ उनले भने । 

नेपाल–भारत सीमा छुट्याउन सुस्ता र कालापानीमा बाहेक सिमानामा ८ हजार ५५३ सीमा स्तम्भ राखिएका छन् । नेपाल र भारतको सीमा सुगौली सन्धिमार्फत निर्धारण गरिएको भएपनि कालापानी र सुस्ताबाहेकको सीमा नक्सा भने सन् १९८० देखि सन् २००७ सम्म बनेका हुन् । दुई देशको संयुक्त टोलीले दुई देशको सीमा नक्सामा काम गरेका थिए । हाल कालापानी र सुस्तामा सीमा समस्या कायमै छ । जसलाई ‘आउटस्ट्याण्डिङ इस्यु’मा राखिएको छ । यो विवाद समाधान गर्न दुवै देशले पहल गरेको देखिन्न । सुस्तामा सीमा स्तम्भ नहुँदा त्यहाँका नेपाली बासिन्दा पटकपटक भारतीयहरूले नेपाली भूमि मिचेको भन्दै राजधानीमा सरकारको ध्यानाकर्षण गर्न आउने गरेका छन् । तर, नेपाल सरकारले हालसम्म भारतसँग सुस्ताको विषयमा समाधान निकाल्न सकेको छैन । 

कोभिडपछि ज्वाइन्ट बाउन्ड्री ग्रुपको बैठक हुन सकेन

भारतबाट सशस्त्र सीमा बल (एसएसबी) र नेपालतर्फबाट सशस्त्र प्रहरी बल (एपीएफ)ले सीमा स्तम्भको गस्ती गर्दै आएको छन् । सीमास्तम्भ केही भएमा दुई देशबाट प्राविधिक टोली समन्वयमा जाने व्यवस्था छ । 

यस्तै, ज्वाइन्ट बाउन्ड्री ग्रुप छ, जसको काम सिमानाका स्तम्भहरूको मर्मतसम्भार, सीमाको पेट्रोलिङ गर्ने हो । दुवै देशले संयुक्त रूपमा बनाएको उक्त स्थायी संयन्त्रको बैठक कोरोना १९ को महामारी र बीचमा निस्केको सीमा विवादको समस्याले अहिलेसम्म हुन सकेको छैन । सन् २०१४ मा निर्माण भएको सो संयन्त्रको म्यान्डेट सीमास्तम्भ निर्माण, मर्मतसम्भार र दशगजाको अतिक्रमण हटाउनु हो । अहिलेसम्म सो संयन्त्रको बैठक ६ पटक मात्र भएको छ । 

हाल सीमास्तम्भमा टुटेफुटेको स्तम्भको जिर्णोद्वार, रङरोगन र सम्भारको काम हुने गरेको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता वरीष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए । उनकाअनुसार सशस्त्र प्रहरीले तीनवटा सीमास्तम्भ फेला पारेको र ७ सयभन्दा बढीमा रङरोगन गरेको छ । 

उनी भन्छन्, ‘सर्लाहीको ३३४÷५ र पर्सामा ४१३÷२४ नम्बर अंक जडित र बारामा पनि सीमास्तम्भ फेला परेको छ । स्तम्भहरू हराएका छैनन् । सीमास्तम्भ पानीले बगाएका स्थानमा डोरीले बाँधेर पनि काम चलाइएको छ ।’ 

यो पनि पढ्नुहोस

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:०१
Weather Update