सरकारसँग वार्ताको पर्खाइमा छौं,सकेसम्म विद्यालय बन्द गर्न नपरोस् : अध्यक्ष तिवारी
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले अहिलेसम्म वार्तामा नबोलाएको बताएका छन् ।
आन्दोलन सुरु गरेको हप्ता दिन हुनै लाग्दा समेत सरकारले वार्तामा नबोलाउनु थप कडा आन्दोलन चाहेको उनको आशय छ ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीका माग राखिए पनि बजेटमा नराखिनुले सरकार विद्यालय कर्मचारीप्रति उदासिन भएको उनले बताए ।
आफूहरूको आन्दोलन नरोकिने र देशव्यापी थप कडाइका साथ आन्दोलन हुने अध्यक्ष तिवारीले बताए ।
‘सरकारले वार्तामा कहिले बालाउँछ भनेर हामी पर्खेका छौं,’अध्यक्ष तिवारीले भने,‘सकेसम्म कडा आन्दोलनमा जान नपरोस् । विद्यालय बन्द गर्न नपरोस् । सरकारले हाम्रो पीडा, बाध्यता तथा समस्या समयमै बुझोस् ।’
उनले आइतबार माइतीघर मण्डलामा थाल ठटाएर सरकारलाई दबाब दिने पनि बताए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० १७:५३