
काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले जलाशययुक्त दूधकोशी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको थियो । सो छलफलमा अर्थमन्त्री महतले जलाशययुक्त दूधकोशी जलविद्युत् परियोजनामा पनि लगानी प्रक्रिया अगाडि बढाउन बैंकलाई आग्रह गरेका हुन् ।
उनले भने,‘नेपालमा जलविद्युतको ठूलो सम्भावना छ । हामीले अरुण तेस्रोमा नै विश्व बैंककाे लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरुण तेस्रोमा लगानी हुन सकेन । अहिले माथिल्लो अरुणमा लगानीको विषयमा छलफल हुँदा निकै खुसी लागेको छ ।’
उनले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजनाहरू आवश्यक रहेको बताए ।
१०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विश्व बैंक, एशियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, यूरोपीयन यूनीयन, यूरोपीयन लगानी बैंक, कुबेत फण्ड, जर्मन, नर्वे, साउदी विकास फण्ड लगायतका दातृ निकायका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।