
पोखरा— गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभाको बहुमतले पारित भएको छ ।
प्रदेश सभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही २१ जेठमा प्रदेश सभासमक्ष पेस गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल गरिएको थियो ।
नीति तथा कार्यक्रम पारित हुनुअघि छलफलका क्रममा प्रदेश सभा सदस्यहरूबाट उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएका थिए ।
उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समन्नुत बनाउने अभियानमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीच सहकार्य हुने विश्वास व्यक्त गरे ।
प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई आधार मानेर नीति तथा कार्यक्रम ल्याएको उनले बताए । मुख्यमन्त्री पाण्डेले अघिल्ला सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत जनाए ।