News Griha :: न्यूजगृह
शेयर बजारमा सीमित व्यक्तिले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैन : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानीकर्ताको नाम लिइ सीमित व्यक्तिले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताएका छन् । 

नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सव कार्यक्रममा उनले शेयर मार्केट केही व्यक्तिको फाइदा पुग्ने माध्यमको रूपमा मात्रै सीमित बन्न नहुने बताए । 

उनले लगानीकर्ताहरू बैंकमा राख्दा बढी हुन्छ कि शेयर बजारमा लगानी गर्दा बढी कमाइन्छ भन्ने हिसाबले लगानी गर्ने गरेको भन्दै सीमित व्यक्तिलाई फाइदा हुनेगरी शेयर लगानी हुन नदिन बोर्डलाई आग्रह गरे । शेयर बजारलाई अटोमेटेड सिस्टममा र पेपरलेस बनाएर हरेक क्रियाकलाप लैजाने गरी अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।  उनले शेयर बजारलाई अझ स्वस्थ र विस्तारित गरेर लैजानुपर्ने आवश्यकता औँल्याए । उनले शेयर बजार कमजोर गर्ने र विश्वास कम गर्ने कुरा सरकारबाट नहुने पनि स्पष्ट पारे । 

मन्त्री महतले शेयर बजारमा जलविद्युत् कम्पनी बढी भएको र उद्योगी व्यवसायी यो क्षेत्रमा आउने क्रम बढेको दाबी गरे । यस क्षेत्रमा आउने उद्योगी व्यवसायी बढ्दा पारदर्शिता बढ्ने अपेक्षा रहेको भन्दै उनले बजारलाई स्वस्थ बनाउन अनुगमन पारदर्शी बनाउन आग्रह गरे । 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:२७
Weather Update