News Griha :: न्यूजगृह
बजेट डडेल्धुरा, गोरखा र नुवाकोटमा मात्र केन्द्रित भयो : माधव नेपाल 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन् ।

करिब दुई साता लामो विदेश भ्रमणबाट बुधबार स्वदेश फर्किएपछि अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गर्न चाहिरहेको बताउँदै त्यसका लागि उनीहरूको लगानी सुनिश्चित गर्न आवश्यक नीति निर्माण तथा वातावरण बनाउनुपर्नेमा जोड दिए ।

गैरआवासीय नेपालीले स्वदेशमा औद्योगिक विकास तथा पूर्वाधारका क्षेत्रमा गर्ने लगानीबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।

न्यूजिल्याण्ड र अष्ट्रेलियाको भ्रमण गरी फर्किएका पूर्वप्रधानमन्त्री नेपालले गैरआवासीय नेपालीले त्यहाँ गरिरहेको प्रगतिका साथै स्वदेशमा लगानी गर्न चाहेको कुरा सुन्दा आफूलाई खुसी लागेको भन्दै विदेशका विभिन्न शहरमा पुगेर प्रवासी नेपालीहरूसँग भेट गरेको बताए ।

सरकारको आगामी आर्थिक वर्षको बजेट वितरण सन्तुलित नभएको भन्दै उनले डडेल्धुरा, गोरखा र नुवाकोटमा मात्र केन्द्रित भएकाले त्यसबारे आफूले सरकारसँग जवाफ माग्ने बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको भन्दै अध्यक्ष नेपालले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारूढ दलका नेताहरूसँग बुझ्ने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०६:०४
Weather Update