
काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्युतीय सवारी साधनमा करको दर बढाएको र सोही समयमा धेरै मात्रामा विद्युतीय सवारी ल्याउनु असामान्य भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा उनले अर्थमन्त्रीको जवाफप्रति नै संशय व्यक्त गरे ।
उनले भने, ‘केही अनौठा घटनाहरू घटेका छन् । करका दर बढ्नेवाला छ, त्यसैबेला ११ सयजति गाडी आए, त्यही चाँहि आइटम जसमा कर बढ्छ । अनुमानका भरमा आयात गर्ने व्यापारीहरू जुवाडे होइनन् ।’
परिवर्तित करको दरले भन्सारमा असर पार्ने बताएका उनले विद्युतीय सवारी साधनसँगै विभिन्न वस्तुमा यस्तो प्रवृति देखिएको भन्दै अर्थमन्त्रीले दिएको सफाइमा ‘बेनिफिट अफ् डाउट’ दिएर हेर्ने समेत बताए ।
उनले आमनागरिकले दैनिक जीवनमा प्रयोग गर्ने वस्तुमा करको दर बढाएको र सम्भ्रान्त वर्गले प्रयोग गर्ने वस्तुमा कर नबढेकोप्रति आश्चर्य जनाउँदै असन्तुष्टि पोखे ।