
काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिकाे लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट–अहोलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीति सरकारकाे ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्नेगरी आउने बताएका हुन् ।
उनले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी १५ साउनभित्रै जारी गर्ने तयारी रहेको बताए । उनले मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक विस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने बताए ।
उनले मौद्रिक नीतिको लागि राय सुझावहरु लिन सुरु गरिएको बताउँदै सरकारले ल्याएको बजेटको प्रशंसासमेत गरे । उनले सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने प्रतिबद्धता जनाए ।