
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर सञ्चारकर्मीसँग उनले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका हुन् ।
उनले भने, ‘भ्रमण अत्यन्त सौहार्द्रपूर्ण भयो । अब दीर्घकालमा विद्युत निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडि बढेको छ । हामीले विद्युत उत्पादन गर्न सक्नुपर्यो । अब बजारको समस्या हुन्न भन्नेकुरा यो ठूलो उपलब्धिको कुरा हो जस्तो लाग्छ । यद्यपि यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो । अहिले आएर यसले मूर्त रूप लिएको छ ।’
मन्त्री महतले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । मन्त्री महतले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा कम हुने पनि बताए ।