News Griha :: न्यूजगृह
नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले भुक्तानीमा सहजता आउँछ : गभर्नर

काठमाडौं— राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन् ।

आइतबार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले भने, ‘नेपाल र भारतको डिजिटल कारोबार गर्ने पूर्वाधार निर्माण गर्ने योजना हो । भोलिको दिनमा इन्टिग्रेसनपछि सीमानामा भारतबाट नेपाल आउने पर्यटकलाई पेमेन्टको समस्या छ । भारतको ठूला नोट नेपालले स्वीकार गरेका छैनौँ । नेपालबाट भारत जाने विद्यार्थी, उपचार गर्न जाने बिरामी, पर्यटकको लागि जानेहरू र तीर्थयात्रीहरू सबैलाई एक खालको नोट साट्नको लागि दौडधुप थियो । क्रसबोर्डर डिजिटल कारोबार हुने भएपछि सहज हुनेछ ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसीएचएल) र भारतको नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीचको सम्झौताले डिजिटल कारोबारमा सहजता ल्याउने उनले बताए ।

गभर्नर अधिकारीले नेपाल र भारतका एकै किसिमका संस्थाबीचमा क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौता भएको भन्दै नेपाल भारत सीमामा रहेका भुक्तानी समस्या समाधान हुने बताए । नेपालमा डिजिटल पेमेन्टको पूर्वाधार निर्माण गर्ने एसीएचएललाई राष्ट्र बैंकले आवश्यक सहयोग गर्नेसमेत उनले बताए ।

गभर्नर अधिकारीले नेपाल र भारतबीच भएको क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले मुख्यगरी भारतबाट नेपाल आउने पर्यटकलाई रहेको पेमेन्टको समस्या हल गर्ने बताए । उनले नेपालबाट भारत जाने विद्यार्थी, उपचार गर्न जाने बिरामी, पर्यटक र तीर्थयात्रीहरू सबैलाई नोट साट्नुपर्ने बाध्यता हट्ने बताए ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले दुई देशबीच हुने डिजिटल भुक्तानीलाई व्यवस्थित बनाउने विषयमा होमवर्क गरिरहेको बताए । 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:३७
Weather Update