
सुर्खेत— ‘दलितका लागि दलित आन्दोलन, नेपाल’ले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसर पारेर कर्णालीलाई दलित प्रदेश बनाउन माग गरेको छ ।
साथै उसले ‘नव सेना नेपाल’ घोषणा पनि गरेको छ । आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच दलित युवाहरूको दस्ता नव सेना नेपाल घोषणा भएको हो ।
जातीय विभेद विरुद्ध सङ्गठित भएर लड्ने उद्देश्यसहित नव सेना नेपाल गठन गरिएको संयोजक खगेन्द्र सुनारले जानकारी दिए । ‘विशेषगरि सोती नरसंहारमा मारिएका नवराज बिक र उनका साथीहरूको सम्झनामा हामीले नव सेना नेपाल निर्माण गरेका हौँ,’ सुनारले भने, ‘जातीय विभेद विरुद्ध सशक्त प्रतिकार गर्ने गरि हामीले उनीहरूलाई प्रशिक्षित समेत गर्दैछौँ ।’

कर्णाली प्रदेशका करिब २ हजार युवा नव सेना नेपालको सदस्य रहेका सुनारले जानकारी दिए । ‘नव सेना नेपालले देशव्यापी रुपमा दलित समुदायका युवाहरूलाई जोड्दै जानेछ । र, देशव्यापी रुपमा जातीय विभेद विरुद्ध यो दस्ताले लड्नेछ,’ उनले भने, ‘आफ्नो लागि आफै, भन्ने नारासहित युवाहरूलाई जातीय विभेद विरुद्ध सङ्गठित गरिएको हो ।’
२०८४ सालसम्म दलितहरूको छुट्टै राजनीतिक दल निर्माण गर्ने लक्ष्य लिएकोसमेत सुनारले बताए । देशभरका ६० लाख दलितलाई आफ्नो अधिकार प्राप्तिको लागि राजनीतिक तवरबाट सङ्गठित गर्ने तयारी भइरहेको उनले बताए ।
दलित समुदायमाथि दमन भइरहेको अवस्थामा नव सेना नेपालको घोषणा भएको हो ।
यो पनि पढ्नुहोस














