
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका माथिको थुनछेक बहसका लागि आरोपितलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपितलाई उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आइतबारदेखि थुनछेक बहस सुरु हुन लागेको हो । थुनछेक बहसपछि आरोपितलाई पुर्पक्षमा पठाउने–नपठाउने बारेमा अदालतले निर्णय लिन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापका बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिइसकेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहित ३० जनाविरुद्ध सङ्गठित अपराध, किर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालतमा १० जेठ मा मुद्दा दायर गरेको थियो ।