
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाणले थुनछेक बहसमा पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एशोसिएसनका अध्यक्षसम्मलाई उतार्दै छन् ।
जिल्ला अदालत काठमाडौंमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती हुन् । उनी गृहमन्त्री छँदा खाती महान्यायाधिवक्ता थिए ।
उनको पक्षबाट बहसमा उत्रिने सबै अधिवक्ताको नेतृत्व खातीले नै गर्ने छन् । टोलीमा नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरे पनि छन् । त्यस बाहेक महादेवप्रसाद यादव, योगेन्द्र अधिकारी, प्रेमबहादुर खड्कासहित १८ जना अधिवक्ता उनको पक्षबाट बहसमा सहभागी हुँदै छन् ।
त्यस्तै, पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतार्दै छन् । अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व बरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दैछन् । टोलीमा पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि सहभागि छन् । त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन् ।
पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तालाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्व एसएसपी हुन् ।
अर्का ‘हाइफ्रोफाइल’ अभियुक्त डा. इन्द्रजित राईले पनि बहसका लागि ‘हाइप्रोफाइल’ अधिवक्तालाई नै बहसमा उतार्ने तयारी गरेका छन् । तर, उनले बहसमा उत्रिने अधिवक्ताको सूची भने अदालतमा पेश गरिसकेका छैनन् ।
सरकारी वकिलको तर्फबाट बहसमा सात सरकारी वकिल उत्रिँदैछन् । टोलीको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि पोखरेलले गर्दै छन् । उनको टोलीमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरे छन् ।
अभियुक्त विरुद्धको थुनछेक बहस आइतबारबाट सुरु हुनेछ । बहस साता दिनसम्म चल्ने छ । अनुसन्धानको ६० दिनपछि ३० जना अभियुक्तविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । उनीहरु विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसूर, सङ्गठित र ठगी कसूर अन्तर्गत मुद्दा चलाइएको छ । घटनामा १६ अभियुक्त पक्राउ परेका छन् । बाँकी फरार छन् ।
उनीहरु विरुद्ध नक्कली शरणार्थीका नाममा ठगी भएको भन्दै एक सय १५ पीडितले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्दामा २८ करोड ८४ लाख रुपैयाँ ठगी भएको भन्दै बिगो दाबी भएको छ ।