News Griha :: न्यूजगृह
कोरोनाको मापदण्ड परिमार्जन : नाकामा खोप र परीक्षण कार्ड आवश्यक नपर्ने, मास्क स्वेच्छिक 

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण दर घटदै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.समिरकुमार अधिकरीले सूचना जारी गर्दै संक्रमण दर घट्दै गएपछि कोरोनाको मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो ।

मन्त्रालयले संक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोरोनाको परीक्षण गरेको र कोरोनाविरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए ।

उनले अब कोरोनाको कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए ।

मन्त्रालयले कोरोनाको संक्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोरोनाको पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोरोना परीक्षण र कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो ।

मन्त्रालयले इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालीन निर्देशक डा.चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०७:२९
Weather Update