News Griha :: न्यूजगृह
जुम्लाको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, एक महिलाको मृत्यु

जुम्ला— जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ मा रहेको देयारपाटामा केही समयदेखि फैलिएको भाइरल ज्वरोबाट १ महिलाको मृत्यु भएको छ । अहिलेसम्म गाँउमा ५३ जना बिरामी फेला परेका छन् । सोही गाउँपालिका–७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्यायको भाइरल ज्वरोको संक्रमणबाट ६ जेठमा मृत्यु भएको हो ।  

उनको मृत्युपछि उनको घर वरिपरि संक्रमणले धेरैलाई थला परेपछि कनकासुन्दरी– ७ का वडाध्यक्ष तेजबहादुर जिसीले तत्कालै जनस्वास्थ्य कार्यालय जुम्लामा खबर गरेका थिए । 

अहिले कर्णाली प्रतिष्ठानको टोली र गाँउपालिका टोलीले चेकजाँचगर्दा ५३ जना बिरामी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइले बताए ।  

उनकाअनुसार ५३ जनामध्ये ८ जना गम्भीर प्रकृतिका थिए । जसमा दुई जनालाई जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अहिले उनीहरू दुईजनाको प्रतिष्ठानमा उपचार भइरहेको छ । उपचारमा  रहेकाहरूको अवस्था अहिले सामान्य रहेको जनस्वास्थ्य निरीक्षक सुमाइले बताए । कोभिडको शंकामा चेकजाँच गरिएको र उनीहरूको रिपोर्ट भोलि शनिबारसम्म आउने उनले बताए ।

jumla-deyarpata-7--1685693404.jpg

बिरामीलाई ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण देखा परेको छ । उक्त वडामा अहिले फेरि प्रतिष्ठानका डाक्टर विशाल रोकायासहित दुई जनाको टोली त्यहाँ खटाएको छ भने जनस्वास्थ्य कार्यालयले ४ जना स्वास्थ्यकर्मी परिचालन गरेको जनस्वास्थ्य निरीक्षक सुमाइले बताए ।  

गाउँभरी नै अहिले भाइरल ज्वरोको सक्रमण बढेपछि भाइरल ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । उक्त वडामा १ सय १५ घरधुरी छन् । अहिले प्रत्येकको घरघरमै पुगेर स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेका छन् । स्थानीयको स्वास्थ्य चेकजाँच र औषधोपचारको काम भइरहेको कनकासुन्दरी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १३:५५
Weather Update