News Griha :: न्यूजगृह
मोदीसँग तीनपटक ‘वान टू वान’ वार्तापछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा सहमति भयो : प्रधानमन्त्री दाहाल 

नयाँ दिल्ली— भारत भ्रमणमा रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटीसी मौर्यमा शुक्रबार बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा दाहालले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताएका हुन् ।

नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार,आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको बताउँदै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ’,उनले भने,‘नेपालको विद्युत् बंगलादेशसम्म निर्यात गर्नका लागि महत्त्वपूर्ण सहमति भयो ।’

pm-dahal-journalist-india1685678808.jpg

महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीनपटक भएको ‘वान टू वान’ छलफलबाट यो सहमति भएको हो’,उनले भने ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालले बताए । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०९:४३
Weather Update