News Griha :: न्यूजगृह
कोही यति दङ्ग किन ?

म्याग्दी — नेत्रज्योति संघ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा उपचार शिविर आज सम्पन्न भएको छ ।

हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति संघ म्याग्दीले सञ्चालन गरेको शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिए । स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको आँखा परीक्षण गरिएको थियो । ‘गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ,’ उनले भने । 

रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले सेवा दिएका थिए । 

शिविरमा आएका बेनी नगरपालिका–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको बताए । बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । ‘आँखा देख्न नसक्दा घरबाट निस्कन सकेको थिइन, । शल्यक्रियापछि दुवै आँखा देख्ने भए । अब हिँडडुल गर्न तथा आफैँ खाना पकाएर खान सक्छु’, उनले भने ।

बेनी नगरपालिका – ५ की ७० वर्षीया पार्वती बानियाँले आँखा देख्न छाडेको तीन वर्ष भए पनि मोतिबिन्दुको शल्यक्रिया गरेकी थिइनन् । ‘पोखरा जाने समय र पैसा नहुँदा मोतिबिन्दुको शल्यक्रिया गर्न सकेको थिइन,’ उनले भने, ‘बेनीमा मोतियाबिन्दुको शिविर सञ्चालन भएपछि सस्तोमा शल्यक्रिया गरेर गुमेको ज्योति फर्कियो  ।’ 

यसअघि गत असोजमा १९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्नका लागि पोखरा जाने झन्झट अन्त्य भएको सङ्घका सचिव राजेन्द्र श्रेष्ठले बताए । 

‘एकजनाको आँखाको शल्यक्रिया गर्न रू २० हजार र तीन दिन लाग्छ । शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ’, उनले भने । धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाबिन्दु र जलबिन्दुको हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाइ सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:३६
Weather Update