News Griha :: न्यूजगृह
बचतकर्तालाई सहकारीले दिएको पीडा : भएन बचत फिर्ता, खर्बौँ रकम जोखिममा
फाइल तस्बिर : सहकारी पीडित बचतकर्ताहरू ।

काठमाडौं— बौद्ध आरुबारीका ७५ वर्षीय प्रेमछिरी शेर्पाले आफ्नो जीवनभरको कमाइ कपनको सुमो बचत तथा ऋण सहकारी संस्थामा राखेका थिए । २५ लाख रुपैयाँ सहकारीमा जम्मा गरेका शेर्पाले विगत १ वर्षदेखि ताकेता गर्दा पनि सहकारीबाट पैसा फिर्ता पाएका छैनन् । 

‘अघिल्लो वर्षको दशैँदेखि मैले सहकारीलाई पैसा फिर्ता गर्नका लागि निरन्तर अनुरोध गरिरहेको छु । बीचमा एकचोटी सहकारीले चेक पनि दियो । तर, बैंकमा गएर चेक साट्न खोज्दा ब्यालेन्स नभएको भन्दै बैंकले फर्काइदियो,’ वृद्ध शेर्पाले गुनासो गरे, ‘अहिले त सहकारीमा ताला लागेको छ । मेरो जीवनभरको कमाइ अब मैले सहकारीबाट कसरी फिर्ता पाउने ?’

शेर्पाले बौद्ध आरुबारीमा करिब १ रोपनी बारीमा खेती गर्दै आएका छन् । ‘एक एक गरेर निकै दुःखले जोडेको पैसा हो । म बुढो मान्छेको पैसा खाएर सहकारी सञ्चालकहरूलाई के राम्रो होला र ?’ शेर्पाले सहकारीका सञ्चालकहरू घरमै आएर आफ्नो सहकारीमा पैसा जम्मा गर्न अनुरोध गरेका कारण आफूले त्यहाँ पैसा राखेको बताए । सो सहकारीको सञ्चालक समिति अध्यक्ष ज्ञानबहादुर लामा हुन् । 

Prabhu Bank

अर्का पीडित शंकरप्रसाद दाहालले पनि निकै दुखजिलो गरेर बचत गरेको रकम क्लिक बचत तथा ऋण सहकारीमा जम्मा गरेका थिए । ‘सहकारीका सञ्चालकहरूको जीवनशैली र सम्पत्ति त बढ्यो । तर, विपद्को बेलामा काम लागोस् भन्ने हेतुले मैले जम्मा गरेको रकम मैले निकाल्न पाइन,’ उनले भने, ‘वास्तवमा भन्ने हो भने सहकारीहरूले म माथि ठगी नै गरेका हुन् ।’

शेर्पा र दाहाल मात्र होइन, नेपालभर यस्ता धेरै बचतकर्ताहरू सहकारी संस्थामार्फत पीडित बनेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सहकारी सञ्चालकहरू फरार हुने क्रम बढेको छ । शिवशिखर सहकारीका सञ्चालकहरू फरार छन् । बागलुङको इमेज सहकारीका सञ्चालक तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पनि बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा परिवारसहित फरार भएका छन् । काठमाडौंका मात्रै ७० भन्दा बढी सहकारीले अहिले बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । 

सहकारी विभागका अनुसार अहिले देशभरबाट सहकारी संस्था र सञ्चालकविरुद्ध उजुरी आउने क्रम बाक्लिएको छ । ठूला सहकारीका सञ्चालकहरू एकपछि अर्को गर्दै फरार हुन थालेपछि बचतकर्तामा त्रास बढेको विभागका रजिष्ट्रार नमराज घिमिरेले बताए । ‘विशेषगरी ठूलो पूँजी भएको र देशभर शाखा कार्यालय रहेको सहकारीहरूमा समस्या देखिएको छ । हामीले यो विषयलाई गम्भीर रूपमा लिएका छौँ,’ घिमिरेले भने । 

sahakari pidit--21685621893.jpg
फाइल तस्बिर : सहकारी पीडित बचतकर्ताहरू ।

बचत फिर्ता पाउन आन्दोलन : 

सहकारी पीडित बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गर्न आन्दोलन गर्ने भएका छन् । 'सहकारी पीडित बचतकर्ता महासंघ, संघर्ष समिति नेपाल' नाम दिएर देशभरका पीडित बचतकर्ताहरू संगठित रूपमा आन्दोलित हुन लागेका हुन् । 

हालसम्म महासंघमा करिब १० लाख जना पीडित वचतकर्ता जोडिएको संयोजक सुनितासिंह राजभण्डारीले बताइन् । महासंघका अनुसार काठमाडौंका २५ सहकारीले मात्रै ती बचतकर्ताहरूको १ खर्ब भन्दा बढी रकम हिनामिना गरेको प्रारम्भिक अनुमान छ । देशव्यापी रूपमा सहकारीबाट पीडित बचतकर्ताहरूको खर्बौँ रकम जोखिममा परेको महासंघको अनुमान छ । 

‘आन्दोलनका लागि हामीले संघर्ष समिति नै बनाएर संगठित भएका छौँ । देशभरबाट हाम्रो यो आन्दोलनमा पीडित वचतकर्ताहरू जोडिने क्रम बढ्दो छ । हालसम्म महासंघमा ४० भन्दा बढी सहकारीका पीडित बचतकर्ताहरू जोडिइसकेका छन् । र, अझै जोडिने क्रममा छन्,’ राजभण्डारीले भनिन् । न्यून आय भएका सर्वसाधारण (बचतकर्ता)हरूको सहकारीले हिनामिना गरेका कारण ठूलो समस्या परेको उनले बताइन् । 

महासंघका अर्का सदस्य खगेन्द्रप्रसाद गिरीले शनिबारदेखि पीडित बचतकर्ताहरूले सडक आन्दोलन गर्ने बताए । माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन हुने उनले जानकारी दिएका छन् । ‘सकेसम्म सरकारले यो विषयमा पहलकदमी लिएर छिटोभन्दा छिटो समस्या हल गर्नतर्फ लागोस् भन्ने हेतुले दबाबमूलक आन्दोलन गर्न लागेका हौँ,’ गिरीले भने, ‘यदि हाम्रो मागलाई गम्भीर रूपमा सरकारले लिएन भने आन्दोलन हिंसात्मक पनि हुनसक्छ ।’

के छ पीडित बचतकर्ताको माग ?

सहकारी पीडित बचतकर्ताहरूले आफ्नो बचत रकम साँवा र ब्याजसहित तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् । ‘कतिपय सहकारी सञ्चालकहरूले बचतकर्ताहरूलाई ६० प्रतिशतमात्रै रकम फिर्ता दिन सकिने भनिरहेका छन् । आफ्नो बचतको पूरा रकमसहित ब्याजसमेत जोडेर पैसा फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो,’ महासंघका अर्का सदस्य पुरुषोत्तम कार्कीले भने । 

साथै महासंघले सहकारीहरूलाई राष्ट्र बैंकले नियमन गर्ने नियम बनाउन सरकारसँग माग गरेको छ । संघर्ष समितिले रकम हिनामिना गरेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्नसमेत सरकारसँग माग गरेको छ । यससँगै सहकारीहरूलाई राष्ट्रियकरण गरेर पीडित बचतकर्ताहरूको समस्याको समाधान सरकारी तवरबाटै हुनुपर्ने महासंघको माग छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:०४
राजनीति
विशेष
Weather Update