News Griha :: न्यूजगृह
आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन गर्ने लेखा समितिको निर्णय

काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकले समितिको बैठक सञ्चालनसम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

सांसद राजेन्द्रकुमार केसी संयोजक तथा ऋषिकेष पोखरेल, रामकृष्ण यादव, डा.अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहनेगरी कार्यविधि मस्यौदा निर्माण उपसमिति गठन गरिएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।

कार्यविधिको मस्यौदा तयार पारेर समितिको अर्को बैठकमा पेस गर्न भनिएको छ । समितिको बैठकमा बैठक सञ्चालन कार्यविधि तयार पार्ने, समिति सभापति चयन गर्ने र समितिमा विचाराधीन तथा फर्छ्र्योट हुन बाँकी रहेका उजुरीका विषयमा छलफल भएको थियो ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएका बेरुजु फर्छ्र्योट, आर्थिक सुशासन, सरकारी कोषको प्रभावकारी र मितव्ययी खर्च भए/नभएको जाँच पड्ताललगायतका महत्त्वपूर्ण क्षेत्राधिकार पाएको लेखा समितिको सभापति चयनमा ढिलाइ गर्न नहुने धारणा समिति सदस्यहरूले राखेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:०१
Weather Update