News Griha :: न्यूजगृह
गुल्मीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा

गुल्मी— गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।

तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँँदरले सबै खेतीलाई हानी पुर्‍याउन थालेपछि परम्परागत खेतीपाती छाडेर कफी खेती गर्न बाध्य भएको यहाँका किसानको भनाइ छ । सिर्सेनीका जितबहादुर अर्यालले आफ्नो सबै खेतबारीमा अहिले कफी खेती सुरु गरेका छन् ।

‘मकै र कोदो खेती गर्दा बाँदरले हैरानी दियो’,उनले भने,‘कफी खेतीमा लागेपछि ढुक्क भएको छ ।’ उनले तीन वर्षको अवधीमा सबै खेतबारीमा कफी खेती विस्तार गरेका छन् । सोही ठाउँकी दमन्ता अर्यालले पनि मकै र कोदो मात्रै खेती हुने ठाउँमा अहिले कफी खेती गरेकी छिन् ।

‘छोराछोरी अध्ययनको लागि शहर छिरेपछि श्रीमान् श्रीमतीले मात्रै मकै र कोदोको खेती जोगाउन सकेनौँ’,उनले भनिन्,‘कफी खेती सुरु गरेपछि दैनिक हेरचाह गरेमात्र पुग्छ ।’

मेघराज अर्यालले परम्परागत खेतीभन्दा कफी खेती निकै सहज भएको बताए । सिर्सेनीका ४५ किसान अहिले कफी खेतीमा आवद्ध छन् । यहाँको कुल एक सय ५० रोपनी क्षेत्रफल जग्गामा १५ हजार कफीका बिरुवा लगाइएको छ ।

किसानलाई कफी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले सहजीकरण गरिरहेको परियोजनाका सहजकर्ता प्रेम अर्यालले बताए ।

परियोजना प्रमुख गङ्गाकुमारी पोखरेलले कफी खेतीमा किसानलाई आकर्षित गरिएको बताइन् । गुल्मीस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले ग्रामीण भेगमा कफी किसान उत्पादनमा अग्रसर भएको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:२१
Weather Update