News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालले भारतमा के–के गर्नेछन् ? यस्तो छ कार्यसूची

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने औपचारिक भ्रमणका लागि बुधबार भारत प्रस्थान गर्दै छन् । तेस्रोपटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ ।

परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको र थप विषयमा छलफल जारी रहेको जानकारी दिएका छन् ।

यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवम् हवाईमार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ ।

नेपालले भ्रमणका क्रममा दीर्घकालीनरूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ । हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ ।

यसैगरी नेपालले बंगलादेशमा बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्नसमेत भारतलाई आग्रह गरिँदै आएको छ । बंगलादेशले तत्काल ५० मेगावाट बिजुली लैजाने सहमति गरिसकेको छ । भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्‍याउने तयारी गरिएको छ ।

प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १:२५ बजे प्रस्थान गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका अलावा उद्योगी व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण दलमा सहभागी छन् । बुधबार साँझ केही महत्त्वपूर्ण भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार १८ जेठमा प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ ।

हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गर्ने एक अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ । प्रधानमन्त्री दाहालले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रमम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको समेत भ्रमण गर्ने कार्यसूची छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल २० जेठको साँझ स्वदेश फर्कने कार्यसूची छ ।

यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्यांक निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्यांक निर्माणका बारेमा सहमति हुनेछ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने जानकारी दिए ।

भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री रिजालले जानकारी दिए ।

कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण, जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०८:३६
Weather Update