
विराटनगर— मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महंगोमा बिक्री गरिरहेका छन् ।
नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ ।
विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् ।
काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले खाद्य पदार्थमा अनुमतिबिना विषादी प्रयोग गरी बिक्री वितरण गर्न नपाइने बताइन् । बजेट निर्माणको चटारो भएका कारण बजार क्षेत्रमा नियमित अनुगमन गर्न नसकिएको उनको भनाइ छ ।
‘यसको फाइदा उठाएर केही व्यापारीले विषादी प्रयोग गरी आँप बिक्री गर्नेगरेको जानकारीमा आएको छ’,कार्कीले भनिन् । उनले काँचो आँपमा विषादी हालेर बिक्री वितरण नगर्न सबैमा आग्रह गरे ।
सुनसरीको झुम्कास्थित कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका माटो विज्ञ डिगम्बर यादवले अत्यधिक मुनाफा आर्जनका लागि केही व्यापारीले विषादी प्रयोग गरी आँप बजारमा बिक्रीका लागि ल्याउने गरेको पाइएको बताए ।