
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र विकास कार्यक्रमको पाँच करोड सांसदले सिधै खर्च गर्न नपाउने बताएका छन् ।
अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सांसद विकास कोषको विषयलाई लिएर आलोचना भएपछि त्यसबारे प्रष्टिकरण दिएका हुन् ।
उनले भने, ‘सांसद विकास कोष सांसद विकासको कुरामा, पहिलो कुरा यो सांसद विकास कोष होइन । यो संसदीय क्षेत्र विकास कार्यक्रम हो । तपाईंहरूले जुन पहिलाको हिसाबले हेरिरहनुभएको छ सिधै सांसदले पाउने, सांसदले आफूखुसी खर्च गर्ने त्यो मोडेलमा यो छैन । बजेट वक्तव्यमा सबै कुरा आउँदैन, गर्नु पनि उपयुक्त हुँदैन ।’
उनले १६५ वटै निर्वाचन क्षेत्रमा केही न केही विकासका कार्यक्रम पुगोस् भनेर यसको व्यवस्था गरिएको बताए । ‘ १६५ निर्वाचन क्षेत्र छ । अनि हाम्रो बजेटमा के हुन्छ भने विदेशी सहयोगको निश्चित ठाँउमा खर्च हुन्छ । अरू कार्यक्रमको खर्च निश्चित हुन्छ । अरू ठाउँमा छुटिरहेको हुन्छ । १६५ ठाउँमै केही न केही पुगोस् भन्ने लक्ष्यसहित संसदीय विकास कार्यक्रम राखेको हो,’ उनले भने ।
उनले सांसदको सिफारिसमा खर्च गर्नेगरी यसको व्यवस्था गरिएको बताए । ‘यो राख्दा सांसदहरूको भुमिका सिफारिस गर्ने मात्र हुन्छ । त्यहाँबाट जनताबाट चुनेर आएका सांसदहरू सिफारिस पनि गर्नु हुँदैन ? सिफरिस गर्नु अपराध जस्तो हो भनेर पनि हेर्नु भएन । जनताले चुनेर पाठाएका, हामीले के भनेका छौँ भने ५ करोडमा १ करोडभन्दा कम्तीको आयोजना हुनुहुँदैन । त्यसैले उहाँहरूको भूमिका सिफरिस गर्ने मात्र हो । त्यस बाहेकका काम सम्बन्धित मन्त्रालयले गर्छ ।’