
काठमाडौं— सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् ।
आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल एक सय पाँच बनाइएको छ । सक्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टल एक सय पाँच पुर्याइएको छ ।
अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो १७ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिकिलो २० पुर्याइएको छ ।
कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो १७ अन्तःशुल्क रहेकोमा त्यसलाई बढाएर प्रतिकिलो २० पुर्याइएको छ । आलु चिप्स प्रतिकिलो १७ अन्तःशुल्क लाग्ने गरेकोमा एक बढाएर १८ पुर्याइएको छ ।
सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर ११ बाट बढाएर १३ पुर्याइएको छ ।
सुर्तीरहित पान मसला प्रतिकिलो आठ सय २१ बाट बढाएर आठ सय ५० पुर्याइएको छ । त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुट्खा) को अन्तःशुल्क प्रतिकिलो तीन सय ५० बाट बढाएर तीन सय ६५ पुर्याइएको छ ।
अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५, जौबाट बनेको बियर प्रतिलिटर दुई सय २८ बाट बढाएर दुई सय ३५ पुर्याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर ८६ बाट बढाएर प्रतिलिटर ९० पुर्याइएको छ ।