News Griha :: न्यूजगृह
सरकारले औद्योगिकीकरणको गतिलाई तीव्रता दिने

काठमाडौं— सरकारले उत्पादन र रोजगार : समृद्धिको आधारको नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवम् मानव संशाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने उल्लेख गरे ।

उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गरिने उनको भनाइ छ । उनले भने,‘सरकारबाट घोषणा भएका औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई तीव्रता दिइनेछ । नौवस्ता र मोतिपुर औद्योगिक क्षेत्रको निर्माण सुरु गरिनेछ ।’

बजेटमा चितवनको शक्तिखोर र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानलगायत पूर्वतयारीका कार्य सम्पन्न गरी सार्वजनिक निजी साझेदारीमा विकास तथा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख छ ।

सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्रको पूर्वाधार सुधार र स्तरोन्नति गर्ने बताइएको छ । औद्योगिक क्षेत्रको पूर्वाधार विकास र सञ्चालनका लागि ३३ करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २०:३३
Weather Update