
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन् ।
सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेको बताए ।
उनले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको बताए । उनले विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने बताए ।
उनले गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रणालीको प्रत्याभूत गर्ने, लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने बताए । उनले आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने र समष्टिगत आर्थिक स्थायीत्व कायम गर्ने, संघीयताको सबलीकरण र सुशासन कायम गर्ने बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारीता अभिवृद्धि गर्ने बताए ।
उनले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने, आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिइएको बताए । सार्वजनिक स्रोतको समुचित तथा उपलब्धिमूलक परिचालन गर्नुका साथै उपलब्ध अवसर तथा लाभको समन्यायिक वितरण गरी धनी र गरिबबीचको खाडल कम गर्नुपर्ने आवश्यकता महसुस गरी बजेटका उद्देश्य तथा प्राथमिकता तय गरेकोे उनको भनाइ छ ।
उनले अर्थतन्त्रलाई गतिशील बनाइ फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने बताए । उनले लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, संघीयताको सबलीकरण र सुशासन कायम गर्ने, बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने बजेटका उद्देश्य रहेका बताए ।