गाँजा खेतीको सम्भाव्यता अध्ययन हुने

काठमाडौं— सरकारले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन हुने बताएका हुन् ।
विगत लामो समययता नेपालमा गाँजा खेती गर्न पाउनुपर्ने माग हुँदै आएको थियो । हाल नेपालमा गाँजाको व्यावसायिक खेती अवैधानिक मानिन्छ । लागुऔषधमा प्रयोग हुने भएकोले कानुनी रूपमा गाँजाको प्रयोग र खेती गर्नुलाई अवैधानिक मानिँदै आएको छ ।
केही अधिकारकर्मीहरूले भने गाँजा खेतीमार्फत नेपालको आर्थिक समृद्धि गर्न सकिने माग राख्दै आएका छन् । बजेटमार्फत नै गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने विषयमा सरकारले सम्बोधन गरेपछि नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने तयारी हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:१९