News Griha :: न्यूजगृह
सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार

नेपालगञ्ज— बाँकेको कोहलपुर नगरपालिकाले वंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ  । 

थारू समुदायमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि गाउँ–गाउँ पुगेर उक्त रोगबारे जानकारी दिइएको नगरपालिकाले जनाएको छ । चिकित्सक, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली गाउँ–गाउँमा पुगेर सिकलसेल एनिमिया र थालेसेमिया रोग, यसले पार्ने अल्पकालीन तथा दीर्घकालीन समस्या, थारू समुदायमा रोगको असर र  नियन्त्रणलगायत विषयमा समुदायलाई सचेत बनाउने काम गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए ।

उक्त नगरपालिकाले सिकलसेलको जाँच निःशुल्क गर्दै आएको र अहिलेसम्म करिब १५ हजार व्यक्तिमा जाँच गरिसकेको छ । तीमध्ये एक हजार बढी वाहक र एक सय बढी रोगी देखिएका नगरपालिकाका ल्याब प्रमुख शिव गौतमले जानकारी दिए । पालिकाले थारू बस्ती तथा टोल टोलमा सो रोगबारे सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ छ । 

सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डे, कोहलपुर नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरीलगायत विज्ञ टोलीले ती रोगबारे प्रशिक्षण दिँदै आएको छ ।

नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सिकलसेल एनिमिया र थालेसेमिया वंशाणुगत रोग भएकाले यसको नियन्त्रणका लागि स्थानीय तहले जनचेतनामूलक कार्यक्रम सुरु गरेको बताए । 

उनले ल्याब परीक्षणबाट मात्रै रोगलाई नियन्त्रण गर्न सकिनेमा जोड दिँदै  कोहलपुरको नगर अस्पतालमा आएर निःशुल्क जाँच गर्न स्थानीयलाई आग्रह गरे । जिल्लामा पछिल्लो समय यसका बिरामीको संख्या बढ्दै जान थालेको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १२:११
Weather Update