News Griha :: न्यूजगृह
यी हुन् २०२२ मा सर्वाधिक बिक्री भएका टप टेन स्मार्टफोन

काठमाडौं— बितेको वर्ष सन् २०२२ मा सबैभन्दा लोकप्रिय स्मार्टफोनको सूचीमा एप्पलले कब्जा जमाएको छ । गत वर्ष सर्वाधिक बिक्री भएका शीर्ष १० स्मार्टफोनको सूचीमा आठ वटा एप्पलका आइफोन नै रहेका छन् ।

काउन्टरप्वाइन्ट रिचर्स रिपोर्ट अनुसार सन् २०२२ मा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रुपमा एप्पलको आइफोन १३ पहिलो स्थानमा रहेको छ ।

गत वर्ष सबैभन्दा धेरै बिक्री हुने टपटेन स्मार्टफोनमा ८ वटा स्थान एप्पलले कब्जा गर्दा सामसुङका दुईवाट स्मार्टफोनले मात्र शीर्ष १० मा स्थान बनाउन सफल भएका छन् ।

विश्वका अन्य स्मार्टफोन ब्राण्डहरु बिक्री संख्याको हिसाबले शीर्ष १० मा पर्न असफल रहे । अर्थात् टपटेनमा एप्पल र सामसुङको कब्जा रह्यो ।

रिपोर्ट अनुसार समग्रमा वर्षको सर्वाधिक लोकप्रिय स्मार्टफोन बन्न सफल आइफोन १३ ले चीन, अमेरिका, बेलायत, जर्मनी तथा फ्रान्स लगायतका देशमा पनि सबैभन्दा बिक्री हुने स्मार्टफोन बनेको छ ।

काउन्टरप्वाइन्ट रिसर्चका अनुसार सन् २०२१ को सेप्टेम्बरमा रिलिज भएयता सन् २०२२ को अगष्ट सम्म नै आइफोन १३ हरेक महिना सर्वाधिक बिक्रीको शीर्ष स्थानमा रहन सफल भयो ।

आइफोन १४ रिलिज भएसँगै एप्पलले आइफोन १३ को मूल्य घटाउँदा विकाससील देशहरुमा समेत यसको मागमा वृद्धि भयो । रिपोर्ट अनुसार गतवर्ष विश्व बजारमा बिक्री भएका कूल आइफोनमध्ये २८ प्रतिशत हिस्सा आइफोन १३ ल ओगटेको थियो ।

सन् २०२२ मा सर्वाधिक बिक्री हुने स्मार्टफोनको सूचीमा दोस्रो नम्बरमा एप्पलकै आइफोन १३ प्रो म्याक्स रहेको छ भने तेस्रो  स्थानमा एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन १४ प्रो म्याक्स रहेको छ । सन् २०२२ को सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा आइफोन १४ प्रो सर्वाधिक बिक्री हुने स्मार्टफोन समेत बनेको छ ।

वर्षको सर्वाधिक लोकपि्रय स्मार्टफोनको सूचीमा सामसुङको ग्यालेक्सी ए१३ चौथो स्थानमा आएको छ । सस्तो मूल्यको यो स्मार्टफोनले खासगरी विकाससील बजारहरुमा आधिपत्य जमाउन सफल भएको छ । क्यारेबियन, ल्याटिन अमेरिका तथा भारतमा ग्यालेक्सी ए १३ को लोकपि्रयता उच्च देखिएको छ ।

त्यस्तै पाँचौ स्थानमा आइफोन १३ प्रो, छैटौंमा आइफोन १२, सातौंमा आइफोन १४, आठौंमा आइफोन १४ प्रो र नवौंमा आइफोन एसइ २०२२ रहेका छन् ।

शीर्ष १० स्थानको पुछारमा चाहिं सामसुङको ग्यालेक्सी ए०३ स्मार्टफोन पर्न सफल भएको छ । यो शीर्ष १० मा परेका मध्ये सबैभन्दा सस्तो स्मार्टफोन पनि हो । यसले क्यारेबियन, ल्याटिन अमेरिका, मध्यपूर्व तथा अफ्रिकामा समेत उच्च बिक्रीदर हासिल गर्न सफल भयो ।

सामसुङका ग्यालेक्सी एस मोडेलका कुनै पनि प्रिमियम स्मार्टफोन गतवर्ष विश्व बजारमा धेरै बिक्री भएका शीर्ष १० स्मार्टफोनको सूचीमा पर्न सकेनन् ।

रिपोर्ट अनुसार सन् २०२२ का टपटेन बेस्ट सेलर स्मार्टफोनले विश्व बजारमा बिक्री भएका कुल स्मार्टफोन संख्याको १९ प्रतिशत हिस्सा ओगटेका छन् । जुन सन् २०२१ को बराबर हो ।

बजार हिस्सामा सामसुङ पहिलो

त्यस्तै अमेरिकी अनुसन्धान कम्पनी इन्टरनेसनल डाटा कर्पोरेसनले प्रकाशित गरेको रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा ओगटेको हिस्साका आधारमा सामसुङ सबैभन्दा ठूलो ब्राण्डको रुपमा रहेको छ ।

सामसुङले विश्व स्मार्टफोन बजारको २१.६ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२२ मा सामसुङले कुल २६ करोड ९ लाख गोटा स्मार्टफोन उत्पादन गरेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको एप्पलको बजार हिस्सा १८.८ प्रतिशत छ । जसले गत वर्ष कूल २२ करोड ६४ लाख स्मार्टफोन उत्पादन गर्‍यो । त्यसैगरी १२.७ प्रतिशत बजार हिस्सा सहित तेस्रो स्थानमा रहेको चिनिया कम्पनी साओमीले कुल १५ करोड ३१ लाख स्मार्टफोन उत्पादन गरेको छ ।

यो हो सन् २०२२ मा सर्वाधिक बिक्री भएका टपटेन स्मार्टफोन मोडेलको सूची :

iPhone 13
iPhone 13 Pro Max
iPhone 14 Pro Max
Galaxy A13
iPhone 13 Pro
iPhone 12
iPhone 14
iPhone 14 Pro
iPhone SE 2022
Galaxy A03

एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:१९
Weather Update