News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाल लाइफ इन्स्योरेन्सको धन्दा : बिमितको रकममा हाकिमको रजाइँ

काठमाडौं— नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूमार्फत उठाएको रकम हिनामिना गरेको आरोपसहित नेपाल बीमा प्राधिकरणमा उजुरी परेको छ ।

कम्पनीका सीईओ प्रवीणरमण पराजुलीसहित डेपुटी जनरल म्यानेजर उमापति पोखरेल र सुर्खेतमा यसअघि कम्पनीका प्रदेश प्रमुख रहेका प्रेमप्रसाद अर्यालको आपसी मिलेमतोमा इन्स्योरेन्समा जम्मा भएको रकम हिनामिना गरेको आरोप लागेको हो ।

रकम हिनामिना गरेको आरोप लागेपछि प्रेमप्रसाद अर्यालले चार महिना अघि नै राजीनामा दिइसकेका छन् । बाँकेको कोहलपुरमा इँट्टाभट्टा सञ्चालन गर्दै आएका अर्यालले ‘आफ्नो व्यवसायलाई समय दिने’ भन्दै पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । यद्यपि अर्यालले इन्स्योरेन्समा रहँदा गरेको आर्थिक अनियमितताको प्रश्नबाट भाग्न राजीनामा दिएको प्राधिकरणमा परेको उजुरीमा उल्लेख छ । 

Prabhu Bank

‘इन्स्योरेन्सका व्यवस्थापकीय तहकै कर्मचारीहरूको मिलेमतोमा रकम हिनामिना भएको व्यहोराको उजुरी हाम्रो कार्यालयमा आएको छ । र, हामीले सो उजुरी उपर के भएको हो ? भनेर स्पष्टीकरण दिनका लागि नेपाल लाइफ इन्स्योरेन्सलाई पत्र काटिसकेका छौँ,’ नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले भने,‘यो विषय अनुसन्धानको क्रममै छ । आर्थिक हिनामिना भएको सत्य रहेछ भने अवश्य कारबाही हुन्छ ।’

आर्थिक हिनामिना गरेको आरोपमा यसअघि नै कम्पनीले प्रेमप्रसाद अर्याललाई बर्खास्त गरेको बुझ्नमा आएको प्राधिकरणले जनाएको छ । ‘उजुरीमा भने कम्पनीका अन्य व्यवस्थापकीय हैसियतमा रहेका कर्मचारीसमेत मिलेमतोमा अर्यालले आर्थिक हिनामिना गरेको आरोप लागेको छ,’ प्रवक्ता पौडेलले न्यूजगृहसँग भने,‘इन्स्योरेन्स कम्पनी आफैंले पनि कर्मचारी विनियमअनुसार यो विषयमा अनुसन्धान त गर्ला । तर प्राधिकरणले पनि यसलाई गम्भीरतापूर्वक हेरिरहेको छ ।’

बीमा कम्पनीहरू भनेको जनताबाट उठाएको पैसाको दायित्व लिएर बसेका संस्थाहरू भएकोले पछिल्लो संशोधित बीमा ऐन, २०७९ अनुसार अनियमितता भएको पाइए कम्पनीलाई नै कारबाही गर्ने अधिकारसमेत प्राधिकरणले पाएको छ ।

स्रोतका अनुसार अर्यालले कम्पनीका सीईओ प्रवीणरमण पौडेल, डेपुटी जनरल म्यानेजर उमापति पोखरेलसँग मिलेरै खाताबाट रकम चलाएका हुन् । ‘मिलेमतो हुँदैन थियो भने उनी एक्लैले कम्पनीको खाताबाट पैसा चलाउन सक्दैन थिए,’ स्रोत भन्छ,‘अर्याललाई बर्खास्त गरेर उनीमाथि आरोप थोपर्दा आफूहरू उम्कन सक्ने देखेपछि उनलाई राजीनामा गर्न लगाइएको हो ।’

नेपाल लाइफ इन्स्योरेन्सको पछिल्लो आर्थिक हिनामिना प्रकरण कम्पनीमा कार्यरत अधिकांश कर्मचारीलाई जानकारी भएपनि नेतृत्वको दबाबमा उनीहरूलाई गुपचुप बनाइएको स्रोत (उजुरीकर्ता) को दाबी छ । ठूलो मात्रामा कम्पनीमा जम्मा भएको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग भएको हुन सक्ने उजुरीमा उल्लेख छ ।

‘रकम हिनामिना गरेको आरोपमा कम्पनीको तर्फबाट दबाब दिएर राजीनामा त गर्न लगाइयो । तर हिनामिना भएको रकम के कति हो ? र, त्यसको असुली कसरी गरियो ? भन्ने कुरा कम्पनीले खुलाएन,’ उजुरीकर्ताले प्राधिकरणमा दिएको उजुरीमा उल्लेख गरेका छन्, ‘कम्पनीको नेशनल सेल्स हेडसमेत रहेका उमापति पोखरेलले पनि मिलेमतोमै कम्पनीमा जम्मा भएको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको देखिन्छ । तर कम्पनी यो विषयमा मौन छ ।’

देखिने मिलेमतो

नेपाल बीमा प्राधिकरणमा परेको उजुरीमा प्रेमप्रसाद अर्याल र कम्पनीका नेशनल सेल्स हेडसमेत रहेका उमापति पोखरेलले रकम हिनामिना गरेका हुन् ।

बीमा कम्पनीका सीईओलाई समेत यो प्रकरणमा मुछेर उजुरीकर्ताले प्राधिकरणमा निवेदन दिएका छन् । उजुरीकर्ताका अनुसार अर्यालले आफूले चलाएको रकम एक्लै नचलाएर पोखरेलसँग मिलेर चलाएको देखिन्छ । तर कम्पनीलाई रकम हिनामिनाको जानकारी भएपछि सो रकम अर्याल एक्लैले फिर्ता गरेको दाबी गरिएको छ ।

अनधिकृत रुपमा कम्पनीको खाताबाट निकालेको रकम पोखरेलले आफ्नो खातामार्फत परिवारका अन्य सदस्यहरूको खातामा ‘ट्रान्सफर’ गरेको उजुरीकर्ताको दाबी छ । नेपाल लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर तथा नेशनल सेल्स हेड पोखरेलले भने आफूले केही नगरेको प्रतिक्रिया दिएका छन् । ‘मैले केही पनि गरेको छैन । र, मलाई केही थाहा पनि छैन,’ उनले न्यूजगृहसँग यो विषयमा थप कुराकानी नगर्ने भन्दै पन्छिए ।

के भन्छ कम्पनी ?

प्राधिकरणमा परेको ‘बेनामे’ उजुरी तथ्यमा आधारित नभएको दाबी नेपाल लाइफ इन्स्युरेन्स कम्पनीको छ । ‘कोही व्यक्तिले व्यक्तिगत रिसइबी साँध्नको लागि उजुरी दिएको देखिन्छ,’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सचिव विनोद भुजेलले भने, ‘यो विषयमा हामीले प्राधिकरणलाई जबाफी पत्र पनि पठाइसकेका छौँ ।’

कम्पनीले उजुरीको विषयलाई लिएर उमापति पोखरेल र प्रेमप्रसाद अर्याललाई व्यक्तिगत रुपमा सोधपुछ गरेको भुजेलले जानकारी दिए । ‘दुवैजनाले आरोपको खण्डन गरेका छन्,’ भुजेलले न्यूजगृहसँग भने ।

यद्यपि अर्यालको सवालमा भने रकम हिनामिना गरे कै कारण कम्पनीले ‘एक्सन’ लिएको सचिव भुजेलले बताए । ‘उहाँको सवालमा पदको दुरुपयोग गरि कम्पनीको रकम व्यक्तिगत रुपमा चलाएको पाइएपछि हामीले बर्खास्त गरेका हौँ,’ भुजेलले भने ।

कम्पनीका अनुसार अर्यालले बिमितहरूबाट पैसा उठाउने तर उनीहरूको खातामा नहाली आफैं चलाउने गर्थे । त्यस्तै एक जनाबाट बीमा बापत उठाएको रकम अर्को व्यक्तिको बीमा गर्न प्रयोग गर्थे । बीमा बापत आएको रकम बिमितको खातामा नराखी आफ्नो मनलाग्दी तरिकाले प्रयोग गर्ने गरेको भेटिएपछि कम्पनीले अर्यालमाथि एक्सन लिएको भुजेलले बताए ।

‘यद्यपि कम्पनीको जिम्मेवार कर्मचारीहरूलाई नै विरोधी बनाएर परेको उजुरी प्रति हामी गम्भिर छौँ । र,यो विषयमा आन्तरिक रुपमा हामीले अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘गल्ती गरेको भेटिएमा सीईओ पनि सजायको भागिदार हुन्छन् भने अरु कर्मचारीलाई छाड्ने कुरै भएन ।’

जनताको रकमको दायित्व बोक्ने ‘पब्लिक कम्पनी’ भएका कारण आर्थिक रुपमा कुनै तलमाथि हुन नदिने दाबी नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १९:५२
sagarmatha cementsagarmatha cement
Weather Update