News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सुरु

दाङ— लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाए ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । ‘प्रदेशको समृद्धि नै अहिलेको आवश्यकता हो । रोजगारी सिर्जना गर्ने मूल लक्ष्य छ’, उनले भने,‘सरकारले जनभावनाअनुसार बजेट ल्याउने आशा छ ।’

नेकपा एमालेका उपनेता चेतनारायण आचार्यले प्रदेश स्थापना हुँदा बनेको सरकारले प्रदेशको समृद्धिका लागि योजना निर्माण गरेको र सोही योजनालाई आधार मानेर बजेट तथा कार्यक्रम बनाउन सुझाव दिए ।

उनले अघिल्लो पटक बनेका सरकारले अघि सारेका योजना र तिनको अवस्थाका बारेमा जिज्ञासा राखे । उनले प्रश्न गरे,‘पाँच वर्षअघि सारिएका आयोजना अझै किन पूरा हुन सकेन ?’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले सन्तुलित विकासलाई आधार मानेर सरकारले बजेट तथा कार्यक्रम बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २२:११
Weather Update