काठमाडौं— अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश बनाउने क्रम झन् बढ्न थालेको किसानले बताएका छन् ।
बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङबेँसीमा प्रदर्शन गरेका हुन् ।
मकैको बोटको माला बनाएर घाँटीमा झुण्डाउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन् । विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्दै आए पनि कुनै पनि सरकारले वास्ता नगरेको उनीहरुको भनाइ छ ।
बर्सेनि खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित छन् । ‘बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ,’बाँदर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङबेँसी आइपुगेकी टिकाकुमारी श्रेष्ठ भन्छिन्,‘बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिँदैन, बर्सेनि दुःख गर्यो । फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।’
अहिले मकैमा चमरा लाग्ने बेला भएको छ । निगालपानी आसपासका किसानले लगाएमो मकैमा बाँदरको रजाइँ छ । ‘दुःख गर्यो, मल हाल्यो खेती गर्यो, हुर्कायो । आउला खाउँला, छाक टारौंला भन्यो बर्सेनि बाँदरले सखाप बनाउँछ’, किसान देवीप्रसाद रिजाल भन्छन्,‘हाम्रो समस्यालाई सरकारले ध्यान दिएन कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।’
किसानले सदरमुकाम धादिङबेँशीमा रहेका सरकारी कार्यालयको गेटमै नारा लगाए ।