News Griha :: न्यूजगृह
आर्थिक संकट समाधानमा सहकार्य जरुरी : महासंघ अध्यक्ष ढकाल

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् । 

समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उनले आग्रह गरे । 

नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिङ्गरलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउन आग्रह गरेका हुन् । 

भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ । 

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनवटै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो । 

अध्यक्ष ढकालले महासंघको मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्नसक्ने संरचना भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए । 

आवासीय संयोजक हाना सिङ्गरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताइन् । उनले दिगो विकासका लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासोको राखेकी थिइन् । दिगो विकासका लक्ष्य हासिलमा स्तरोन्नतिबाट पर्ने प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको भनाइ छ । 

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र संघले सहकार्य गर्न सक्ने उनले बताइन् । औपचारिक भेटमा संयुक्त राष्ट्रसंघ नेपाल कार्यालय र महासंघ सचिवालयका अधिकारीहरूको उपस्थिति थियो । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:४५
Weather Update