
बाग्लुङ— बाग्लुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बाग्लुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो ।
धवलागिरि अस्पतालका डा.विनित ढकाल, डा.समिर लामिछाने, डा.प्रमेश थापा, डा.राजन शर्मा, डा.अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले जानकारी दिए ।
‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’ का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ’, उनले भने ।
अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा.प्रधानले बताए । यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौंलगायत ठाउँ जाने गरेका थिए ।
महंगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बाग्लुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपीडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।