News Griha :: न्यूजगृह
असार पहिलो सातादेखि अस्ट्रेलिया उडान गर्ने तयारीमा नेपाल एअरलाइन्स

काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।

सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अस्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ ।

‘आगामी ६ असार (जुन २१ तारिख) लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ’,उनले भने ।

उडानका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया पनि अगाडि बढाएको छ ।

त्यस्तै निगमले सिङ्गापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको उल्लेख गरेको छ । सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ ।

निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अस्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २२:१३
Weather Update