News Griha :: न्यूजगृह
उखु किसानका माग सम्बोधन गर्न सरकारलाई बाबुरामको आग्रह

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् ।

बुधबार काठमाडौंको माइतीघरमा धर्नामा बसेका उखु किसानसँगको भेटपछि डा.भट्टराईले विश्वमा नै किसानलाई अनुदान दिने प्रचलन रहेकोमा नेपालमा पनि सरकारले यसअघि नै घोषणा गरेको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका हुन् ।

आर्थिक वर्ष २०७१/७२ मा सरकारले २५ रुपैयाँ प्रतिक्वीन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरे पनि हालसम्म नपाएको भन्दै कपिलबस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले धर्ना दिँदै आएका छन् ।

डा.भट्टराईले किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आउने कृषिजन्य बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान मारमा परेको बताए ।

उखु किसानलाई दिइने अनुदानमा भ्रष्टाचार हुनसक्ने देखिएको भन्दै यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । उखु किसानले सबै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनिवार्य रूपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:१२
Weather Update