News Griha :: न्यूजगृह
सफा हिमाल अभियानका क्रममा बिरामी भएकाको उपचार भारतमा
फाइल तस्बिर ।

काठमाडौं— नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीनसहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ ।

हिमाल आरोहणका क्रममा उद्धार गरिएका चार जनालाई थप उपचारका लागि मंगलबार भारतको नयाँ दिल्लीस्थित आर एण्ड आर अस्पतालमा पठाइएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनीहरुमध्ये तीन जना सगरमाथा आरोही छन् भने एक जना ल्होत्से हिमाल आरोहण दलमा संलग्न आरोही एक छन् ।चार जना सगरमाथा र एक जना ल्होत्सेबाट उद्धार गरिएकामा एक जना समान्य उपचारपछि घर फर्किसकेका छन् भने बाँकी चार जनालाई थप उचारका लागि नयाँ दिल्ली लगिएको हो ।

सगरमाथाको दोस्रो आधार शिविरमा म्यानेजर तथा कुकको जिम्मेवारीमा रहेका ओखलढुङ्गा निवासी शेर्पा सरदार आङकाजी शेर्पाको सव अन्त्येष्टि गर्नुअघि बौद्ध गुम्बामा धार्मिक परम्पराअनुरुप १४ जना लामा गुरुद्वारा शान्ति पाठ गरिएको छ ।

उनको शव आधार शिविरबाट सोमबार काठमाडौं ल्याएपछि परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिएको थियो । बौद्ध परम्पराअनुसार उपयुक्त साइतमा उनको पार्थिव शरीर बुधबार टेकुमा अन्त्येष्टि गरिने छ । यस पटकको सफा हिमाल अभियानमा लक्ष्यभन्दा बढी नै फोहोर सङ्कलन भएको प्रवक्ता भण्डारीले बताए । यस पटक ३५ टनको लक्ष्य थियो ।

संकलित फोहोरमध्ये कुहिने फोहोर त्यसै क्षेत्रमा व्यवस्थापन गरिने छ भने नकुहिने फोहोर काठमाडौं ल्याइने छ । पूर्वनिर्धारित कार्यक्रमअनुरुप उपलब्ध साधन स्रोत र खर्चका आधारमा संकलित फोहोर व्यवस्थापन गरिने छ ।

अभियानमा संलग्न प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको टोली सगरमाथा आधार शिविरमा रहेको टोली फोहोर संकलनको काम सकेर फर्कने क्रममा छ ।

त्यहाँ संकलन फोहोर सेवा प्रदायक कम्पनीले हवाई साधन र अरु साधनको प्रयोग गरी नजिकको विमानस्थलमा पुर्‍याउने र त्यसपछि आवश्यकताका आधारमा सडक र हवाई यातायातमार्फत काठमाडौंमा ल्याइने छ । विश्व वातावरण दिवसका अवसरमा ५ जुनमा औपचारिक कार्यक्रम गरी अभियानको समापन हुनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  २१:१९
Weather Update