काठमाडौं — सोमबार ‘न्यूजगृह’ले मानिस ‘वर्क डिप्रेशन’मा कसरी पर्छन् ? भन्नेबारे समाचार प्रकाशित गर्यो । जसमा ‘वर्क डिप्रेशन’का खतराबारे पनि चर्चा गरिएको छ । उक्त रोगबाट ग्रसितहरु मुख खोलेर बोल्न सक्दैनन् । रोगी भएपछि पनि सहेर बस्नु उनीहरु उत्तम ठान्छन् । आखिर उनीहरु किन खुलेर बोल्न चाहँदैनन् ? भन्नेबारे पदमकन्या क्यामपसको मनोविज्ञान विभाग प्रमुख डा. कविताराज कँडेलसँगको फोनवार्ता:
‘वर्क डिप्रेशन’बाट ग्रसितहरु खुलेर बोल्न किन सक्दैनन् ?
आफुलाई केही भयो भनेर सहनुपर्छ भन्ने मानसिकता छ । आफ्ना समस्या खुलेर भन्न नसक्नुको कारण हामीलाई बच्चादेखि नै त्यहीँ सिकाइएको हुन्छ । त्यो कुरा पुरुषभन्दा महिलामा ज्यादा छ । यसका रोगीहरुको तथ्यांक हेर्दा पनि पुरुषभन्दा महिला बढी नै देखिन्छन् । महिलाहरु समस्या र कुराहरु सहज रुपमा भनिहाल्ने अवस्था नभएर पनि हो ।
पुरुषको तुलनामा महिलाहरु खुलेर बोल्दैनन् । सानैदेखि, छोरीहरु बोल्नुहुँदैन भन्न सिकाइएको छ । चुप कसरी बस्ने ? सिकाइएको छ । जति समस्या भएपनि अरुलाई आफ्ना कुरा शेअर नगर्ने/नभन्ने बानी बस्दै आएको छ ।
सामाजिक संरचनाले पनि महिलाको आवाज कुण्ठित पारेको छ । यी र यस्तै कारणले हो, पुरुषभन्दा महिलामा ‘वर्क डिप्रेशन’ बढी हुने । हाम्रो मनमा निसासिएर बसेका कुराहरुले मानसिक रोगको बाटोतिर जान्ने गर्छ ।
त्यो निसासलाई सासमा परिणत कसरी गर्ने ?
सुन्ने/भन्ने कुरा महत्वपुर्ण हुन्छ । बिरामीले हामीलाई केही कुरा सुनाउँदै छ, हामीसँग समस्या शेअर गर्दै छ भने हामीले उसको कुरा सुनिदिनुपर्छ । यसले समस्या मुक्ततर्फ जान्छ ।
विभिन्न प्रकारका व्यक्ति हुन्छन् । कोही खुलेर बोल्छन् भने कोही बोल्दैनन् । यसरी हेर्दा सुन्ने मानिस पनि हुनुपर्छ । पीडितको समस्या सुन्नेले पनि कसरी सुन्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
सुन्नेले पनि उसको मनलाई मलम लगाउने हिसाबले सुन्छ कि थप पीडा थप्नलाई सुन्छ ? यो कुरा महत्वपूर्ण हो । कसैको पीडा हामीले सुन्यौँ भने मात्र आधा उसको आधा समस्या समाधान हुन्छ । सुन्ने व्यक्तिले पनि मजाकका रुपमा लिएपछि पीडामाथि पीडा थपिन्छ ।
यसलाई रोकथाम गर्न सामाजिक तवरबाट के कस्ता काम गर्नुपर्छ होला ?
रोकथाम गर्न पहिलो कुरा, जनचेतना फैलाउनुपर्यो । हाम्रो समाजमा यस्तो जनचेतना फैलिएको छैन । मानसिक रोगीहरुलाई मजाकका रुपमा लिने पनि धेरै छन् । रोगबाट ग्रसितलाई सामाजिक सहयोगको निकै जरुरी पर्छ ।
सहयोग कस्तो व्यक्तिहरुबाट लिने ? कस्ता व्यक्तिले सहयोग गर्न सक्छन् ?
समाज बुझेको, उनीहरुलाई बुझ्ने/सुन्ने र समस्या थाहा पाउने जानकार व्यक्तिहरुको सहयोग लिनुपर्छ । त्यसपछि मात्र यसको समस्या समाधान गर्न सहज हुन्छ । पहिला कुरा यस्तो विषयमा कोबाट सहयोग लिने ? आफन्त र नजिकका मान्छेहरुले पहिचान गर्नुपर्छ । जसले गर्दा पीडितले आफ्नो कुरा खुलेर भन्न सक्छ । समस्या सुनाउन सक्छ । त्यसबाट रोगबाट मुक्त हुन्छन् र समाधानमा सजिलो हुन्छ । यसमा परिवारको महत्वपूर्ण भूमिका हुन्छ ।
अभिभावकले यस्तो भूमिका निर्वाह गरिदिए ठूलो मानसिक दुर्घटनाबाट मान्छे जोगिन्छ । एउटा घरमा पनि आमा बाबादेखि अन्य सदस्यले बिरामीको कुरा बुझ्न सक्नुपर्छ । अभिभावकले आफ्नो भुमिका के हो ? त्यो राम्रोसँग जानुपर्छ । अभिभावकले आफ्ना बालबच्चालाई राम्रोसँग बुझ्न/बुझाउन सक्यो भने यी समस्याहरु हाम्रो समाज, घर वरिपरि देखिँदैनन् ।