काठमाडौं — गोरखाकी पुजा श्रेष्ठ काठमाडौं डाडागाउँमा बस्छिन् । सामान्य परिवारमा हुर्किएकी पुजा उच्च शिक्षाका लागि पाँच वर्षअघि काठमाडौं आइन् । ‘उच्च शिक्षा प्राप्त गर्छु’ भन्ने अठोट भएपनि सहज थिएन ।
आर्थिक अवस्था कमजोर भएका कारण, काम गर्दै पढ्नुपर्ने बाध्यताले साथ छोडेन । कामकै सिलसिलामा पुजा, एक सहकारीमा ठोक्किन् । अब पुजाले बिहान कलेज, दिउँसो सहकारी धाउनुपर्यो । कलेज नगए सपना छुट्ने, सहकारी नगए काठमाडौं छुट्ने । यी दुई धारलाई सँगसँगै लिएर अगाडि बढिरहेकी थिइन्, पुजा । सहकारीबाट सुरुसुरुमा राम्रै प्रतिक्रिया पाइन् ।
तर, केही समयपछि उनलाई गर्ने सहकारीले व्यवहार बदल्दै गयो । गाउँबाट आएकी पुजासँग सहरको प्रविधिसँग टाढा नै थिइन् । कम्प्युटरका किहरुमा कहिल्यै राखेकी थिइनन् । जसले गर्दा पुजालाई काम गर्न अप्ठ्यारो आइलाग्यो । कार्यालयमा सहपाठीले पनि कम्प्युटर सीपलाई लिएर खिसी गर्न थाले । सहरमा हुर्किएका सहकर्मीले गाउँको जीवनसँग रमाउन मात्र जान्थे, बुझ्दैन थिएन । पुजालाई बुझ्ने कुरा भएन । नजानेका कुराहरु सोध्दा रिसाउने र खिसी गर्ने काम निरन्तर गरिरहे ।
सहरियाको व्यवहारले उनलाई काम गर्न दिएन । कार्यालयमा निराश हुने, कसैसँग नबोल्ने, काममा ध्यान नजाने जस्ता समस्याहरु देखा परे । मानसिक रुपमा समस्या उनको दैनिकी जस्तै थियो भने स्वास्थ्य रुपमा पनि उनको समस्या बढ्दै गयो । टाउको दुख्ने, खान मन नलाग्ने, निन्द्रा राम्रोसँग नलाग्ने लगायत उनका समस्या हुन् । यी समस्या बुझ्ने उनका लागि सहरमा कोही थिएन । कार्यालयमा रुने, कोठामा कराउने गर्थिन्, पुजा ।
पुजाले ती दिन बिर्सेकी छैनन, ‘कति गाह्रो हुन्थ्यिो, भावना साट्ने साथी हुँदैन थिए । सहर सहरिया साथीले हाम्रा कुरा बुझ्दैन थिए । कार्यालयमा मलाई हेर्ने दृष्य फरक थियो । नयाँ भएकाले मलाई कार्यालयको वातावरणमा घुलमिल हुन गाह्रो थियो ।’
त्यतिबेला पुजाले यसरी मानसिक यातना खेपिन् जसलाई सम्झिँदा पनि मुटु थरथर हुन्छ, ‘ती दिन सम्झिन सक्दिनँ । निन्द्रा नलाग्ने, निन्द्राका लागि औषधि प्रयोग गर्नुपर्ने बाध्यता थियो ।’ अहिले पुजा ठिक छन् । स्नातकसम्म पढाइ पुरा गरिन् । घर व्यवहार अहिले राम्रैसँग चलिरहेको छ ।
तर, पुजा जस्ता हजारौँले यस्तो समस्या बोक्दै आएका छन् । उनीहरुलाई थाहा छैन, ‘आफु वर्क डिप्रेशनमा छु’ भनेर । पछिल्लो समय यस्ता समस्याबाट धेरै मानिस ग्रसित छन् । अचम्मको कुरा के हो भने जो समस्यामा हुन्छन् उनीहरुलाई त्यो समस्या थाहा हुँदैन । कतिपयले थाहा पाए पनि भन्दैनन् ।
यसबारे हामीले थप बुझ्न, मनोभाव मनोवैज्ञानिक सेवा तथा अनुसन्धान केन्द्रको सल्लाकारका रुपमा काम गर्दै आएकी सिरु भण्डारीलाई सम्पर्कमा ल्यायौँ । उनले रोगबारे भनिन्, ‘वर्क डिप्रेशन भयो भनेर आउने बिरामीहरु छैनन् । तर, उनीहरुको कुरा सुन्दै र बुझ्दै जाँदा उनीहरुलाई वर्क डिप्रेशन भएको हुन्छ ।’ कतिपय त खुलेर आफ्नो समस्या भन्न नसक्ने अवस्था पुग्ने भण्डारीको भनाइ छ ।
यो रोगबाट ग्रसितहरु, डाक्टरहरुलाई भेट्दा निको नभएपछि मनोसामाजिक परामर्शमा पुग्ने गरेको उनले बताइन्, ‘बिरामीहरु आउने गर्छ् तर उनीहरु वर्क डिप्रेशन भएको भनेर आउदैनन् । हामीलाई उनीहरुको कुरा सुनेपछि थाहा हुन्छ । बिरामीहरु खुलेर नबोल्नु उनीहरुको मुख्य समस्या हो । बिरामीलाई थाहा हुँदैन कि आफु वर्क डिप्रेशनमा छु भनेर ।’ उनीहरुलाई कस्ता खाल्का लक्षणहरु देखा पर्छन् ? भण्डारीले जानकारी दिइन्, ‘लामो समयसमम टाउको दुख्ने, निन्द्रा नलाग्ने नै हो ।’
आफुले काम गर्ने कार्यालयको माहोल राम्रो नभएका कारण प्राय यस्तो रोगबाट मान्छेहरु ग्रसित हुने उनको बुझाइ छ, ‘कार्यालयमा आफ्नो महत्व र सम्मान कम हुने, धेरै काम गर्नुपर्ने, अरुसँग बोल्न मन नलाग्ने, सहपाठीबाट सल्लाह सुझाब र सहयोग नपाएपछि यस्तो समस्या देखापर्छ ।’
(पीडितको नाम परिवर्तन गरिएको छ । यसबारे थप सामग्री पस्किने छौँ )