News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भारतीय २ हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालमा कस्तो असर पर्छ ?

काठमाडौं— भारतीय रिजर्ब बैंकले २ हजार रुपैयाँ भारु नोट बन्द गर्ने घोषणा गरेसँगै नेपाली बजार पनि तातेको छ । यसअघि २०१६ मा भारतले नोटबन्दी गर्दा सटहीमा समस्या खेप्नुपरेको नेपालीहरूका लागि योपटक पनि समस्या हुनसक्ने बजार आकलन छ । 

नेपाल राष्ट्र बैंकले भने बैंकिङ प्रणालीमा भारतीय २ हजारका नोट शून्य रहेको बताएको छ । ‘नेपालको बैंकिङ प्रणालीमा भारु १ सय भन्दा बढी मूल्यको नोट छैन । हामीले पटक–पटक सूचना जारी गरेर भारतीय नोटको बैंकिङ कारोबार नगर्न बैंकहरूलाई निर्देशन दिएकाले यो पटक औपचारिक बैंकिङ प्रणालीमा भारतीय नोटबन्दीले कुनै असर गर्दैन,’ नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘अनौपचारिक रूपमा बजारमा भने व्यक्तिहरूसँग २ हजारको नोट हुनसक्छ ।’

सीमाक्षेत्रका व्यापारी, काठमाडौंका भारतीय मूलका व्यापारी र व्यक्तिहरूसँग ठूलो मात्रामा २ हजारको नोट हुनसक्ने राष्ट्र बैंकको आकलन छ । भारतीय रिजर्ब बैंकले २३ मे २०२३ देखि ३० सेप्टेम्बर २०२३ सम्मको समयसीमा दिएर २ हजारको नोट साटिसक्न सूचना जारी गरेको छ । नेपाल राष्ट्र बैंकले यसअघि नै त्यस्ता नोटको चलनचल्तीमा नेपालमा रोक लगाइएको कारण यहाँका कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूले नोट सटही सुविधा नदिने जनाएको छ । 

Prabhu Bank

नेपालमा २ हजार भारुको नोटको कारोबारलाई राष्ट्र बैंकले यसअघि नै अवैधानिक करार गरिसकेको छ । यदि ठूला मात्रामा कोहीसँग यस्तो नोट भेटिएको खण्डमा ती व्यक्तिहरू उल्टै प्रतिबन्धित नोटको कारोबार गरेकोमा कानुनी समस्यामा पर्नसक्ने खतरा छ । 

‘व्यक्तिगत रूपमा सीमाक्षेत्रका व्यापारी र मानिसहरूसँग यस्तो नोट बढी हुन सक्छ । र, काठमाडौंलगायत नेपालका ठूला सहरका व्यापारीहरूसँग पनि यस्तो नोट भएको हामीले अनुमान लगाएका छौँ,’ राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेलले भने, ‘यदि उहाँहरूले आफूसँग भएको भारु २ हजारको नोट साट्न चाहनुहुन्छ भने भारतीय बैंक तथा वित्तीय संस्थाहरूमै जानुपर्ने हुन्छ ।’ नेपाल राष्ट्र बैंकले भारतीय २ हजारको नोट सटहीको सवालमा कुनै जिम्मेवारी नलिने स्पष्ट पारेको छ । 

भारत सरकारले तोकिएको समयसीमाभित्र एक दिनमा एकजना व्यक्तिले २० हजार भारु मात्रै साट्न पाउने बताएको छ ।

यसअघिको नोटबन्दीले झस्किएको राष्ट्र बैंक

भारतीय रिजर्ब बैंकले यसअघि सन् २०१६ मा भारु ५ सय र १ हजारको नोटबन्दी गरेको थियो । तत्कालीन समयमा नेपालमा भारतीय रुपैयाँ सहज रूपमा बजारमा चलनचल्तीमा रहेको थियो । र, धेरै नेपालीहरूसँग भारतीय ५ सय र १ हजार रुपैयाँको नोट थियो । 

यतिसम्म कि तत्कालीन समयमा भारतीय सरकारले गरेको नोटबन्दीले नेपालको बैंक तथा वित्तीय संस्थाहरूको औपचारिक प्रणालीमा रहेको भारतीय नोट सटहीमा पनि समस्या देखियो । तत्कालीन समयमा नोटबन्दीका कारण ८ करोड १० लाख नेपाली रुपैयाँ अहिले नेपाल राष्ट्र बैंकको ‘भल्ट’मा यत्तिकै थन्किएको छ । 

भारतीय सरकारले व्यक्तिहरूले अकुत रूपमा कालो धन थुपारोको र नक्कली नोटको प्रचलन बढेको कारण देखाउँदै तत्कालीन समयमा नोटबन्दी गरेको थियो । 

‘भल्ट’मा थन्किएको ५ सय र १ हजार मूल्य बराबरको नोटहरूको पटकपटक पहल हुँदा पनि हालसम्म राष्ट्र बैंकले साट्न सकेको छैन । अघिल्लोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राष्ट्र बैंकले परराष्ट्र मन्त्रालयलाई नोट सटहीको लागि पहल गरिदिन आग्रह गरेको थियो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारत भ्रमणको क्रममा भारतीय रिजर्ब बैंकका गभर्नर श्री शशिकान्त दाससँग पनि नोट सटहीमा सहजीकरण गर्नका लागि आग्रह गरेका थिए । त्यस्तै, नेपाल राष्ट्र बैंक र भारतीय रिजर्ब बैंकबीचको ‘ज्वाइन्ट टेक्निकल को–अर्डिनेटर कमिटी’ (जेटीसीसी)मा पनि सटही हुन नसकेको भारतीय नोटको विषयमा बारम्बार कुराकानी हुँदै आएको छ । तर, हालसम्म पनि ८ करोड १० लाख रुपैयाँ बराबरको नोट सटही हुन सकेको छैन ।

भल्टमा थन्किएको नोटको विषयमा सरकारस्तरीय पहल हुन सकेमात्रै समस्या समाधान हुनसक्ने नेपाल राष्ट्र बैंकको बुझाइ छ । ‘नेपाल राष्ट्र बैंक र भारतीय रिजर्ब बैंकबीचको समन्वयले यो समस्या सुल्झिने देखिन्न । बरु सरकारकै तर्फबाट भारतीय सरकारसँग पहल गर्ने हो भने केही होला,’ राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेलले भने, ‘हामी त कैयौँपटक पहल गर्दा गर्दा थाकिसकेका छौँ ।’

भारतीय रिजर्ब बैंकको नोटबन्दीदेखि झस्किसकेको नेपाल राष्ट्र बैंकले यो पटक भने नेपाली बजारमा १ सय रुपैयाँभन्दा माथिको नोट औपचारिक प्रणालीमार्फत कारोबार गर्न प्रतिबन्ध नै लगाएको थियो । सोही कारणले पछिल्लोपटक भारतीय सरकारले २ हजारको नोटमाथि प्रतिबन्ध लगाएपनि नेपाली बजारमा त्यसको असर नदेखिने भएको हो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:०२
राजनीति
विशेष
Weather Update